झापा,साउन ५ । झापाको बाहुनडाँगीबाट उत्पादन भइरहेको जमघट चियाको बजार विस्तारका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको छ । चिया संसार प्रालिले हात्ती प्रभावित क्षेत्रमा उत्पादित जमघट चियालाई देशभर पुर्याउने उदेश्य राखेर यहि साउन १ गते बाट 'तिज विशेष जमघट चिया टिकटक प्रतियोगिता ' आयोजना गरेको हो ।
हात्ती प्रभावित क्षेत्रका किसान द्वारा उत्पादित, प्रशोधित तथा प्याकेजिङ गरिएको चियालाई बजार सम्म पुर्याउने रणनिति लिएर नेपालमा लोकप्रिय रहेको समाजिक सञ्जाल टिकटकमा भिडियो प्रतियोगिता गरिएको चिया संसार प्रालिका अध्यक्ष सचिन निरौलाले जानकारी दिनुभयो । यसले जमघट चियालाई नेपाली भान्सा सम्म पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने र रचनात्मक भिडियो बनाउन टिकटक प्रयोगकर्ताहरुलाई पनि प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।
अध्यक्ष निरौलाका अनुसार टिकटक प्रतियोगिता साउन १ गतेदेखि भदौ १३ गतेसम्म सञ्चालन हुनेछ। सहभागीहरूले ‘जमघट’ चियाको लोगो देखिने गरी चियासँग सम्बन्धित भिडियो तयार गरी चियासंसारको वाट्सएप नम्बर ९८१६००८५२१ वा [email protected] मा पठाउनु पर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन जना विजेता मध्ये प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले ११ हजार र तेस्रो हुनेले ७ हजार पुरस्कार प्राप्त गर्नेछन्। नतिजा भदौ २१ गते सार्वजनिक गरिनेछ । मौलीक,रचनात्मक,र सन्देश प्रवाह गर्ने भिडियो लाई प्राथमिक्तामा राखिने आयोजकको भनाई छ । हाल प्रतियोगिताका लागि टिकटक भिडियो प्राप्त भइरहेको बताइएको छ ।

हात्तीका कारण अन्य खेती गर्न नसकिएपछि पछिल्लो समय बाहुनडाँगीमा चिया खेती बिस्तार हुदै गएको छ । त्यहाँका किसानको जिविको पार्जनको माध्यम बन्दै गएको चिया खेती र संकटमा पर्दै गएका सीटीसी चिया उद्योगको संरक्षणका लागि पनि नयाँ रणनिती बनाएर काम गर्न आवश्यक रहेको अध्यक्ष निरौलाको भनाई छ ।
नेपाली तयारी चियाको ठूलो बजार भारत भए पनि हाल त्यहाँको मूल्य घटेपछि सीटीसी चिया उद्योग संकटमा परेको छ। करिब दुइ करोड किलो उत्पादन हुने तयारी चियाको आन्तरिक खपत भने ५० देखि ६० लाख किलो मात्रै रहेको छ । बाकीँ चिया भारत तथा तेस्रो मुलुकमा निर्यात हुने भएपनि उचित मूल्य पाउन सकिरहेको अवस्था छैन ।
यहि अवस्थालाई ध्यानमा राख्दै आफनो उत्पादनलाई हरेक नेपालीको भान्सासम्म पुर्याउन चिया संसार प्रालीले प्रचारप्रसारको लागि नयाँ रणनिती बनाएको हो । हाल मसलादार र नन मसलादार चिया विभिन्न प्याकेजिङमा उत्पादन गरिरहेको चिया संसार प्रालीले २ किलो भन्दा बढी खरिद गर्ने ग्राहकलाई अनलाइन डेलिभरी निःशुल्क गर्ने व्यवस्था पनि मिलाएको छ ।