धुलाबारी, साउन २ । झापा जिल्ला साविक सतासीधाम गाविस वडा नं. ७ हाल शिवसताक्षी नगरपालिका वडा नं. ९ दुधेमा बुवा छविलाल पाठक र आमा बिष्णुमाया पाठकका तीन छोरी र एक छोरा गरी चार सन्तानमध्येकी कान्छो सन्तानका रुपमा जन्मनु भई सानैदेखि अध्ययनमा तीक्ष्ण छवि बनाउनु भएकी रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठक एक प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ ।
विद्यालयको सुरुवातदेखि उच्च शिक्षासम्म नै सामुदायिक शिक्षाको अध्ययन गर्नु भएकी शर्मिलाले सतासी प्राविबाट आफ्नो विद्यालय शिक्षा सुरु गर्नु भएको थियो । राष्ट्रिय रमणीय आदर्श मावि दुधे झापाबाट एसएलसी परीक्षा प्रथम श्रेणीमा उर्तीण गर्नु भएको शर्मिलाको उच्च शिक्षाको सुरुवात भने केही अप्ठ्यारा र केही संयोगहरुका साथ अगाडी बढेको थियो ।
२०५४ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरमा विज्ञान संकाय तर्फ आई एस्सीमा भर्ना हुनु भएकी शर्मिलाले आफ्नो स्वास्थ्यमा समस्या भए पछि भने केही समय क्याम्पस जान सक्ने अवस्था रहेन । तर वहाँको अध्ययन प्रतिको रुची र पढ्नै पर्छ भन्ने दृढ संकल्पका कारण अगाडी आइपरेको अप्ठ्यारोलाई पन्छउँदै केही ढिलै गरी भए पनि सोही बर्ष कन्काई क्याम्पस सुरुङामा मानविकी संकायतर्फ आई ए मा भर्ना हुँदा एसएलसीमा उच्च अंक भएकाले एडमिशन स्टापिन समेत प्राप्त गर्न सफल हुनु भएको थियो ।

दमक बहुमुखी क्याम्पसबाट अर्थशास्त्र र राजनितिक शास्त्र बिषय लिएर उच्च अंक सहित स्नताक तह उतिर्ण गर्नु भएकी शर्मिलाले तत्कालिन पुर्वाञ्चल क्षेत्रमा स्नातक तहमा अर्थशास्त्र बिषयमा सबैभन्दा धेरै अंक प्राप्त गरी नेपाल राष्ट्र बैंकले स्थापना गरेको छात्रबृत्ति समेत प्राप्त गर्नु भएको थियो । यो छात्रबृत्ति नै शर्मिलाको जीवनको टर्निङ पोईन्ट बन्न पुग्यो ।
राजनितिक शास्त्र र अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेर र राजदुत बन्ने सपना बुन्नु भएकी शर्मिलालाई राष्ट्र बैंकले प्रदान गरेको छात्रबृत्तिले बैंकिङ क्षेत्र तर्फ आकर्षित गरायो । सन २००४ मा अर्थशास्त्र बिषयमा स्नातकोत्तर (एम ए) पुरा गर्नु भएकी शर्मिलाले सो अवधीभर केन्द्रीय क्याम्पस किर्तिपुरको अर्थशास्त्र विभागको छात्रवासमा बसेर पढाई पुरा गर्नु भएको थियो ।
राजनितिक चेत भएको र अध्ययनशील परिवारमा जन्मनु भएकी शर्मिलाका बुवा छविलाल पाठक पुर्व प्रधानाध्यपक हुनुहुन्छ भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा शिवसताक्षी वडा नं. ९ को वडाअध्यक्षमा निर्वाचित हुनु भएको थियो । जनमुखी जनप्रतिनिधिका रुपमा कार्यकाल पुरा गर्नु भएका बुवा छविलाललाई पहिलो प्रेरणाको स्रोत मान्नु हुने शर्मिलाकी आमा बिष्ष्णुमाया पाठक पनि पुर्व जनप्रतिनिधि तथा सामाजिक अभियन्ता हुनुहुन्छ । वहाँ २०५४ सालमा नै तत्कालिन सतासीधाम गाविस वडा नं. ७ की निर्वाचित वडा सदस्य हुनुहुन्छ ।

दिदिहरु बिना पाठक, शुष्मा पाठक र दाजु कमल पाठकको माया पाएर हुर्किनु भएकी शर्मिलाका धेरै साथीहरुमध्ये शोभा दाहाल, माया तिम्सिना, जानुका दाहाल र लेखक सरस्वती प्रतिक्षा ‘सरु’ भने शर्मिलाका जीवनका विभिन्न मोडमा भरपर्दा सारथी बनेका छन ।
आफ्नो पहिचान आफैं बनाउँछु भन्ने दृढ संकल्प लिएर अगाडी बढिरहनु भएकी शर्मिलाले सन २००५ मा तत्कालिन बैंक अफ काठमाण्डौ हाल ग्लोबल आई एम ई बैंक को मुख्य कार्यालय कमलादीबाट बैंकको ट्रेलरबाट सुरु गरेको बैंकिङ यात्रा स्याट्याण्डर्ड चार्टड बैंक बिराटनगर शाखाको प्रमुख हुँदै सन २०२२ सम्म आइपुग्दा तत्कालिन प्रदेश नं. १ को कार्यकारी प्रदेश प्रमुखको जिम्मेवारी समेत कुशलता पुर्वक पुरा गरिसक्नु भएको छ ।
बैकिङ क्षेत्रको अवधिमा शर्मिलाले शुरुवातको दुई बर्षमा नै ट्रेलर, ट्रेलर हेड, अप्रेशन इन्चार्ज, रेमिट्यान्स विभागको इन्चार्ज लगायतको अनुभव हासिल गरिसक्नु भएको थियो । एकाउन्ट बजेटिङ र प्लानिङ डिपार्टमेन्टमा करीब चार बर्ष काम गरेको अनुभव पछि तत्कालिन बैक अफ काठमाण्डौको विर्तामोड शाखा प्रमुखमा रुपमा पुर्व क्षेत्रकै पहिलो महिला शाखा प्रवन्धकको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरिसक्नु भएको छ ।

भारतिय दुतावासद्वारा १६ देशका बैकिङ क्षेत्रमा कार्यरत दुई दुई जना बैंकरलाई प्रदान गर्ने अन्तराष्ट्रिय बैंकिङ तालिममा सन २००८ मा नेपालको तर्फबाट शर्मिलाले भारतको पुणेमा सहभागिता जनाउनु भएको थियो । त्यस बाहेक पनि शर्मिलाले थुप्रै राष्ट्रिय तथा अन्तराष्टिय तालिम प्राप्त गरिसक्नु भएको छ ।
बैंक अफ काठमाणडौको विपन्न वर्ग कर्जा विभागमा कार्यरत रहँदा नेपालका ५६ वटा जिल्ला भ्रमण गरी सहकारी तथा माइक्रोफाइनान्सहरुसगको सहकार्यमा काम गरेको अनुभव समेत हासिल गरिसक्नु भएकी शर्मिला पाठकले क्षेत्रीय सञ्चालन अधिकृतका रुपमा काठमाण्डौ आसपासका १० वटा बैंकिङ शाखालाई हेर्ने जिम्मेवारीमा बसेर आफ्नो नेतृत्व क्षमतालाई समेत उजागर गरिसक्नु भएको छ ।
बैकंरको विभिन्न जिम्मेवारी सम्हालेका बेला काठमाण्डौ, झापा लगायत विभिन्न जिल्लाका सञ्चारमाध्यमहरुमा शर्मिलाका बारेमा सकारात्मक सन्देश मुलक समाचार सामाग्री प्रकासन भएका थिए ।
सन २०१९ मा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको सदस्यता लिएर सामाजिक सेवाको क्षेत्रमा प्रवेश गर्नु भएकी शर्मिला सन २०२० मा रोटरी क्लव अफ मेचीनगरको संस्थापक सदस्यका रुपमा आबद्ध हुनु भयो । सामाजिक क्षेत्रको सेवालाई थप प्रभावकारी र फराकिलो बनाउने उद्देश्यले रोटरी क्लव मेचीनगरको स्थापना गर्नमा नै प्रमुख भुमिका खेल्नु भएकी शर्मिला आफुलाई पुस्तक प्रेमी पाठकको रुपमा चिनाउन चाहनु हुन्छ ।

रोटरी क्लव मेचीनगरका संस्थापक अध्यक्ष समेत रहनु भएका झापा धुलाबारी निवासी किशोर क्षेत्री (कपिल) संग बैवाहिक जीवनमा रहनु भएकी शर्मिला सामाजिक सेवासंगै व्यशायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । छोराहरु आदित्य, अनन्त, अयन र बुहारी दिप्तीको अभिभावकीय भुमिका निर्वाह गर्दै पारिवारीक जीवनमा रमाईरहनु भएकी शर्मिला व्यवशायिक जीवनमा अगाडी बढ्न सुसुराबुवा जंगबहादुर क्षेत्रीलाई आदर्श मान्नु हुन्छ । ७६ बर्षको उमेरमा पनि व्यापार व्यवशायमा ससुराबुवाले देखाउनु भएको सक्रियता नै आफुलाई अगाडी बढ्न उत्प्रेरणा भएको बताउनु हुने शर्मिला रोयल कोल्ड स्टोरेज बिर्तामोडको मेनेजिङ डाइरेक्टर तथा जय माँ कामाख्या प्लाईवुड इण्डष्ट्रिज प्रालि मेचीनगर १५ को सञ्चालक तथा चिफ फाइनान्स अफिसरका रुपमा काम गरिरहनु भएको छ ।
बैंकिङ, व्यवशायिक, सामाजिक र पारिवारीक जिवन जिउने क्रममा शर्मिलाले नेपालसंगै भारतका विभिन्न स्थानहरुको भ्रमण गर्नुका साथै थाईल्याण्ड, दुवई, सिंगापुर र इण्डोनेसियाको भ्रमण पनि गर्नु भएको छ ।
जिवनका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा शर्मिलालाई केही संस्थाहरुले सम्मानित समेत गरेका छन । बैंकिङ क्षेत्रमा उत्कृष्ट शाखा प्रमुख सहित अन्य विभिन्न विधामा सम्मानित हुनु भएकी शर्मिलालाई बैंकिङ क्षेत्रको उच्च तहमा काम गर्ने महिलाका रुपमा विरता लेडि जेसीजले सफलताको यात्राबाट सम्मानित गरेको छ ।
बैंकिङ करियरका बेला सिकेको शीपलाई नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने लक्ष्य लिनु भएकी शर्मिलाले विद्यालय र क्याम्पसका विद्यार्थीहरुलाई बैंकिङ सचेतना कक्षा समेत सञ्चालन गर्ने गरिरहनु भएको छ भने पेशागत अनुभवलाई युवा तथा विद्याथीहरुमा प्रवाह गर्ने काम समेत गरिरहनु भएको छ ।

रोटरीलाई सामाजिक सेवाको प्रस्थान बिन्दु मान्नु हुने शर्मिलाले रोटरी क्लव अफ मेचीनगरको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो कार्यकालका लागि काम गर्ने केही योजनाहरु समेत बनाउनु भएको छ ।
शान्ति निर्माण र द्वन्द रोकथाम, पानी, सरसफाई र स्वच्छता, आर्थिक तथा सामुदायिक विकास, मातृ र शिशु स्वास्थ्य, वातावरण संरक्षण, रोगको रोकथाम र उपचार र आधारभुत शिक्षा र साक्षरता जस्ता क्षेत्रहरुमा काम गर्ने गरी अध्यक्ष शर्मिला पाठकले योजना बनाउनु भएको छ ।
बैंकीङ र व्यवशायिक जिवनमा लोभलाग्दो सफलता हात पानु भएकी शर्मिला पाठकले रोटरी क्लव अफ मेचीनगरको सन २०२५/२६ को अध्यक्षको रुपमा समेत आफुलाई यस क्षेत्रकै प्रभावशाली नेतृत्वका रुपमा स्थापित गर्नु हुनेछ भन्ने विश्वास लिन सकिन्छ ।