धुलाबारी, असार २५ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्षको जिम्मेवारी शर्मिला पाठकले सम्हाल्नु भएको छ । धुलाबारीमा बुधवार आयोजित क्लवको पदहस्तान्तरण कार्यक्रमकाबीच पाठकले सन २०२५/०२६ को अध्यक्षको जिम्मेवारी ग्रहण गर्नु भएको हो ।
रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कमल कोइरालाले ग्यावल दिएर पद हस्तान्तरण गरिएको थियो भने रोटरी इन्टरनेशनल डिस्ट्रिक गर्भनर विनोद कोइरालाले अध्यक्षको कलर पहिर्याएर अध्यक्ष पाठकलाई पदभार ग्रहण गराईएको थियो ।

अध्यक्ष पाठकको सभापतित्व तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक गर्भनर कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै अध्यक्ष पाठकले शिक्षा, स्वास्थ्य, पर्यावरण र कृषिको क्षेत्रमा काम गर्ने भावी योजना सुनाउनु भएको थियो । वहाँले समाज रुपमान्तरणका लागि रोटरी क्लव अफ मेचीनगरले स्थानीय सरकार, स्थानीय समुदाय र रोटरी डिस्ट्रिकसंग मिलेर काम गर्ने बताउनु भयो ।

बैंकिङ क्षेत्रको उच्चको जागिर छोडेर व्यापार व्यवशायमा लाग्नु भएकी पाठकले रोटरी क्लव मार्फत सामुदायिक विद्यालयमा छात्रा शौचालय र कम्प्युटर ल्याब स्थापना गर्ने लक्ष्य राखेको कार्यक्रममा बताउनु भयो । वहाँले सामुदायिक क्षेत्रमा केही सकारात्मक काम गरेर रोटरीको दायरालाई थप फराकिलो बताउने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर कोइरालाले रोटरीले मानविय सेवामा प्राथमिकताका साथ काम गर्ने भएकाले सबैलाई रोटरीमा जोडिन आव्हान गर्नु भयो । सामाज विकासका लागि रोटरी सहयोगी संस्था भएको कोइरालाले बताउनु भयो ।

कार्यक्रममा बिषेश अतिथि मेचीनगरका उपप्रमुख मिना पोखरेल उप्रेतीले रोटरीसंग मिलेर काम गर्न नगरपालिका तयार रहेको बताउनु भयो । वहाँले रोटरी क्लवले सामुदायिक विद्यालयको विकासका लागि गरेका कामले आफु प्रभावित भएकाले आगामी दिनमा पनि रोटरीले गर्ने काममा नगरपालिकाको सहयोग रहने बताउनु भयो ।
खेल क्षेत्रमा लामो समय योगदान गर्नु भएका धुलाबारी निवासी गणेशविक्रम नेम्वाङलाई सम्मान समेत गरिएको कार्यक्रममा रोटरीका असिटेन्ट गर्भनर विनोद चापागाई, सम्मानित व्यक्तित्व नेम्वाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सम्मानित व्यक्तित्व नेम्वाङका बारेमा राेटरीयन धर्मेन्द्र खड्काले परिचय गराउनु भएकाे थियाे ।

सोही कार्यक्रममा रोट्र्याक्ट क्लव अफ मेचीनगरको पनि पद हस्तान्तरण गरिएको थियो । रोट्र्याक्ट क्लवका निवर्तमान अध्यक्ष प्रज्वल कार्कीले नवनिर्वाचित अध्यक्ष राज अग्रवाललाई पद हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । नयाँ सदस्यहरुको परिचय रोटरियन आयुष्मान निराैलाले गराउनु भएको थियो भने अध्यक्ष पाठक र डिस्ट्रिक गर्भनर कोईरालाले रोटरी पिन वितरण गर्नु भएको थियो । रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष कपिल क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम क्लवका सचिव पवित्रा विमली प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।
