काकरभिट्टा, असार २५ । रोटरी क्लव अफ काकरभिट्टाले पुर्वी सीमान्त शहर काकरभिट्टामा क्लक टावर बनाउने भएको छ । क्लवको १६ औं पदहस्तान्तरण कार्याक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष उदयकुमार श्रेष्ठले काकरभिट्टामा क्लक टावर निर्माण गर्ने घोषणा गर्नु भएको हो । भारतको रोटरी क्लव अफ सिलिगुडीसंगको सहकार्यमा आगामी एक बर्ष भित्रमा क्लक टावर निर्माण गरिसक्ने अध्यक्ष श्रेष्ठले घोषणा गर्नु भयो । वहाँले उक्त टावर निर्माण गर्न करीब ४० लाख खर्च लाग्ने बताउनु भयो ।

मंगलवार पाँचतारे होटल मेची क्राउनमा सम्पन्न रोटरी क्लव अफ काकरभिट्टाको पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का गर्भनर विनोद कोइरालाले रोटरीको सदस्य बन्नु एउटा गौरवको विषय बन्ने भन्दैं हरेक व्यक्ति कहि न कहिबाट रोटरीमा जोडीन आग्रह गर्नु भयो ।
यसले हरेक व्यक्तिको व्यक्तित्व र क्षमतामा विकास हुने, देश विदेशका जुनसुकै भागमा रहेका व्यक्तिहरुसँगको सम्बन्ध बलियो हुने बताउनु भयो । वहाँले रोटरी क्लबलाई समाजमा सकरात्मक र रचनात्मक काम गर्न भन्दैं यसमा डिस्ट्रिक र आफ्नो व्यक्तिगततर्फबाट साथ सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
.jpg)
कार्यक्रमकाबीच डिस्ट्रिक गर्भनर कोइराला र जोन ३८ का असिस्टेन्ट गर्भनर निकिता गिरीले सन् २०२५/२६ का अध्यक्ष उदयकुमार श्रेष्ठलाई क्लबको चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यवल र गन प्रदान गरी विधिवत रूपमा पद हस्तान्तरण गराउनु भएको थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर उपप्रमुख मिना पोखरेल उप्रेती, पुर्व प्रमुख बिमल आचार्य, रोटरी क्लव अफ काकरभिट्टाका निवर्तमान अध्यक्ष डा आनन्दराज खनाल, असिस्टेन्ट गर्भनर निकिता गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका अध्यक्ष श्रेष्ठले आफ्ना भावि योजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो । वहाँले काकरभिट्टामा क्लक टावर सहित विद्यालयमा छात्रा शौचालय, कम्प्युटर ल्याव स्थापना गर्ने देखि मानविय सेवाका कार्यहरु गर्ने आफ्नो योजना रहेको सुनाउनु भयो ।

झापा र मोरङका विभिन्न रोटरी क्लवहरुको सहभागिता रहेको कार्यक्रममा भारतको रोटरी क्लव अफ सिलिगुडीका अध्यक्ष सहितको सात सदस्यीय टिमको पनि सहभागिता रहेको थियो ।
रोटरी क्लव अफ काकरभिट्टाकी प्रेसिडेन्ट इलेक्ट लक्ष्मीदेवी खनियाँले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको पहिलो सत्र क्लवका सन २०२४/२५ का सचिव जिवन भट्टराईले र दोस्रो सत्र क्लवका सन २०२५/२६ का सचिव रविन सुवेदीले सञ्चालन गर्नु भएको थियो ।