धुलाबारी, असार १७ । रोटरी क्लव अफ मेचीनगरको आयोजनामा विद्यार्थी र अभिभावकका लागि मानसिक रोग, स्त्री रोग र पोषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लव अफ मेचीनगरकी २०२५/२६ की अध्यक्ष शर्मिला पाठकले आफुले पद सम्हालेको पहिलो दिन नै विद्यार्थीहरुकाबीच कार्यक्रम गरेर कार्यकाल सुरुवात गर्नु भएको हो ।
धुलाबारी माविका विद्यार्थी र अभिभावकका लागि आयोजित अन्तरक्रियामा मानसिक रोग सम्बन्धी विशेषज्ञ डा सन्धर्भ अधिकारीले सहजिकरण गर्नु भएको थियो । वहाँले विद्यार्थीहरुमा पर्न सक्ने मानसिक समस्या र समाधानका बारेमा जानकारी गराउनु भएको थियो । विद्यार्थी र अभिभावकले राखेको जिज्ञासामा समेत डा अधिकारीले प्रष्ट पार्नु भएको थियो ।

त्यसैगरी स्त्री रोग बिशेषज्ञ डा निर्जला तिम्सिनाले महिलासम्बन्धी रोगका बारेमा जानकारी गराउनु भएको थियो । डा तिम्सिनाले महिलाहरुमा मात्रै देखिने रोगका कारण र त्यसको समाधानका बारेमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रमकैबीच पोषण बिद रोजिना चौहानले खानपानका बारेमा चर्चा गर्नु भएको थियो । कस्तो खानेकु्राले कुन किसिमको समस्या ल्याउँछ र कस्ता खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने बिषयमा बिद्यार्थी र अभिभावकहरुलाई प्रष्ट्याउनु भएको थियो ।

धुलाबारी माविको सभाहलमा रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमको उदघाटन सत्रमा रोटरी क्लवका एसिस्टेन्ट गर्भनर विनोद चापागाई, धुलाबारी माविका व्यवस्थापन समितिका अध्यक्ष गणेश विक्रम नेम्वाङ, विद्यालयका प्रधानाध्यपक महेन्द्र विलास लुईटेल र पत्रकार ज्ञानेन्द्र निरौलाले शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरुका लागि सान्धर्भिक बिषयमा विद्यालयमा अन्तरक्रिया गराएकामा रोटरी क्लव अफ मेचीनगरको प्रशंसा गरेका थिए ।

कार्यक्रम संयोजक थिङ्कु नेम्वाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम क्लवकी सचिव पवित्रा विमली प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष कपिल क्षेत्री, निवर्तमान अध्यक्ष कमल कोईराला लगायत रोटरीयनहरु र विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
