झापा, असार १७ । साहित्यकार तेजराज खतिवडा (तेराख) को चौथो स्मृति दिवसको अवसरमा झापाको शान्तिगरमा वृक्षारोपण र काव्यसभा सम्पन्न गरिएको छ । साहित्यकार तेराख प्रतिष्ठान मेचीनगरको आयोजना तथा शान्ति आदर्श मावि शान्तिनगर र अचलेश्वर शिवालय मन्दिर बुद्धशान्ति ६ सहआयोनामा सोमबार वातावरण संरक्षणका बिषयमा बिशेष चर्चा गरिएको थियो । कार्यक्रममा मन्दिर परिषरमा वृक्षारोपण र पृथ्वी बचाऔं, वातावरण संरक्षण गरौं भन्ने नारामा रहेर कविता वाचन समेत गरिएको थियो ।
अचलेश्वर मन्दिर परिषरमा आयोजना गरिएको कार्यक्रममा शान्ति आदर्श माविका विद्यार्थीबीच वातावरण संरक्षण सम्बन्धी कविता प्रतियोगिता समेत सम्पन्न भएको थियो । कविता प्रतियोगितामा शिखा भुजेल प्रथम, प्रश्ना श्रेष्ठ दोस्रो, उन्नत धिताल तेस्रो र रुपश्री दाहालले सान्तवना पुरस्कार जितेका थिए ।

प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खड्ग बहादुर पुलामी, प्रतिष्ठानका सल्लाहाकार पत्रकार चन्द्र भण्डारी, शान्तिनगर गाविसका पुर्व अध्यक्ष देवी प्रसाद खतिवडा, स्थानीय शिक्षक दिपक गौतम लगायतका बक्ताहरुले तेराखका बारेमा चर्चा गरेका थिए भने वातावरण संरक्षणका बिषयमा विभिन्न दृष्टिकोण राख्नु भएको थियो ।
प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले स्मृति दिवसको कार्यक्रमका बारेमा जानकारी गराउनु भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शुशिला खतिवडाले स्वागत तथा सदस्य वासुदेव न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीयबासी र अग्रजहरुको बाक्लो उपस्थीति रहेको थियो ।

तेराख स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानका तर्फबाट अचलेश्वर मन्दिरमा एक बर्षसम्म प्रयोग हुने धुप, वाती लगायतका सामग्री प्रदान गरिएको थियो भने मन्दिरका पुजारीलाई खाद्यन्न लगायतका सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले जानकारी दिनुभयो ।