झापा, असार ११ । मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले काकरभिट्टा खानेपानी उपभोक्ता समितिले मेचीनगर ४ को ट्याँकीबाट वितरण गरिरहेको पानी बन्द गरिदिने चेतावनी दिनु भएको छ । वडा अध्यक्ष कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत खानेपानी टेंकी सहित पानी वितरण नै बन्द गरिदिने घोषणा गर्नु भएको हो ।
मेचीनगर ४ को वडा कार्यालयबाट वडाबासीको घरमा धारा जडानका लागि एक बर्ष अघि नै बजेटको व्यवस्था गरे पनि खानेपानी कार्यालयबाट धारा जडान नगरिदिएका कारण असार १६ गतेसम्म स्थानीयको घरमा धारा जडान नगरे सोही दिनदेखि खानेपानी वितरण बन्द गरिदिने वडा अध्यक्ष कार्कीले बताउनु भएको छ ।
वडा अध्यक्ष कार्कीले फेसबुकमा लेख्नु भएको छ, ‘मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुन्डागीबाट काँकरभिट्टा खानेपानीले पानीको ट्याङ्की सहित खानेपानी वितरण गरेको छ । यस वार्डले प्रत्येक वर्ष बजेट छुट्याउँछ । समयमा काम नगरेको हुँदा हामी असार १६ गतेदेखि मेचीनगर वडा नम्बर ४ बाट अन्य वार्डमा जाने पानीहरूको पाइपहरु हामी सबै प्रतिबन्ध गर्ने जानकारी गराउँदछु ।’
मेचीनगर ४ को वडा कार्यालयले १५ विपन्न परिवारको घरमा खानेपानीको धारा जडानका लागि एक बर्ष अघि नै बजेट छुट्याएर काकरभिट्टा खानेपानी कार्यालयलाई धारा जडानका लागि पटक पटक जानकारी गराउँदा समेत पनि धारा जडान नगरिदिएकाले अब वडामा रहेको टेंकीबाट वितरण हुने पानी पूर्ण रुपमा बन्द गरिदिने वडा अध्यक्ष कार्कीले सेतोपत्रलाई बताउनु भयो । ‘धारा जडान गर्न नसक्ने परिवारका लागि एक घर बापत सात हजार पाँच सय रुपैयाका दरले १५ घरको रकम वडाबाट छुट्याएका छौं,’ वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘धारा जडान गर्न पटक पटक भन्दा समेत खानेपानी समितिले धारा जडान गरेन, वडा कार्यालयलाई नै हेप्ने काम भयो अब पानी बन्द गरिदिन्छौं ।’
यस बिषयमा काकरभिट्टा खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख दिपक पोखरेलले धारा जडान गर्ने परिवारका सदस्यहरु खानेपानी उपभोक्ता समितिको सम्पर्कमा नआएकाले धारा जडान गर्न नसकिएको बताउनु भयो । ‘कसको घरमा धारा जडान गर्ने भन्ने समितिले पत्ता लगाउन सकेको छैन,’ पोखरेलले भन्नुभयो, ‘वडा कार्यालयसंग सम्झौता भए पछि वहाँहरुले हामीलाई धारा जडान गर्ने घरसंग सम्पर्क गराउनु भएन ।’
खानेपानीका प्रतिनिधि आए वडाका प्रतिनिधिहरुले धारा जडान गर्ने घर घरमा पुर्याउने वडा अध्यक्ष कार्कीको भनाई छ । तर त्यसरी खानेपानी समितिले काम नगर्ने खानेपानी कार्यालयका प्रमुख पोखरेलको भनाई छ । ‘हामीलाई टोलको नाम र व्यक्तिको फोन नम्बर दिनु पर्छ अनि मात्रै हामी धारा जडान गर्छौं,’ पोखरेलले भन्नुभयो ।
