काठमाण्डौ, असार ९ । पछिल्लो केही समय यता झापा मेचीनगरको बाहुन्डाँगी, बुद्ध शान्तिको खारखोला र भद्रपुरको विभिन्न स्थानमा हात्तीको प्रकोप बढेको सम्बन्धमा असार ८ गते आइतबार काठमाडौमा बिशेष छलफल सम्पन्न भएको छ । झापा १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संयोजनमा उहाँकै सचिवालयमा भएको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्री श्री ऐनबहादुर शाही तथा सरोकारवाला क्षेत्रका व्यक्तित्वहरुको सहभागीता थियो ।
छलफलको शुरुआतमा सांसद शर्माले निम्न १५ बुँदामा मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

१) संघ र प्रदेश दुवै वनमन्त्रीको उपस्थितिमा मेचीनगर धुलाबारीमा सांसद सचिवालय झापा १ ले गतबर्ष गराएको ‘बिशेष छलफल’ मा लिखित प्रस्तुत सुझावहरुमा ध्यानाकर्षण ।
२) हात्ती पीडित स्थानीय नागरिकले स्थानीय तहसमक्ष प्रस्तुत गरेका २२ बुँदे मागपत्रमा उल्लेखित बुँदाहरु ।
३) भारतीय पक्षसँग संवाद गरेर पारिबाट आउने हात्ती त्यतै रोक्ने उपायको खोजी ।
४) मेची किनारमा विगतमा बनाइएको सोलार फेन्सिङ जिर्ण बन्दै गएको छ, अत नयाँ मोडलको सोलार फेन्सिङ १८ किलोमिटर निर्माण ।
५) मेची नदिमा ‘जनताको तटबन्ध’ पुर्णता गरेर, त्यसमाथि सोलार फेन्सिङ निर्माण सबैभन्दा प्रभावकारी हुनसक्ने हुँदा तटबन्ध निर्माणमा तिब्रताका लागि जरुरी बजेट ।
६) प्रभावित क्षेत्रमा पर्याप्त सडक बत्ति जडान गर्न स्थानीय तहलाई पर्याप्त बजेट ।
७) फेन्सिङ सुरक्षा मार्फत मानव सुरक्षाका लागि सुरक्षा निकायको ‘बिशेष सुरक्षा युनिट’ प्रभावित क्षेत्रमा स्थापना ।
८) ‘हेरालु’का रूपमा खटिने स्थानीयवासिको पारिश्रमिकमा वृद्धि गरेर सरकारले तोकेको न्युनतम पारिश्रमिकको मापदण्ड पालना ।
९) मानव–हात्ती द्वन्द्व न्यूनीकरण संस्था मार्फत गरिने व्यवस्थापकिय कार्यहरूका लागि आवश्यक बजेट विनियोजन ।
१०) हात्ती प्रतिरक्षा र जनधन रक्षामा खटिने युवाहरूको समुह `RRT´ ( Rapid Response Team ) का लागि अत्यावश्यक बन्दोबस्त ।
११) प्रभावित क्षेत्रमा आवश्यक प्रशिक्षण र आकस्मिक स्थितिका लागि प्रशिक्षित जनशक्ति मात्रै ‘मुभ’ हुने कार्ययोजना निर्माण र प्रेरणा ।
१२) आकस्मिक स्थितिका लागि साधनको बन्दोबस्त ।
१३) राहत र बिमाको रकम पाउने झन्झटिलो र लामो समय लाग्ने प्रक्रिया रोकेर स्थानीय तह मार्फत छिटोछरितो रूपमा उपलब्ध गराउने अनिवार्य व्यवस्था ।
१४) सिमानाको बाँझो जमीनमा हात्तीले खाने बोट बिरुवा रोप्न स्थानीय तह मार्फत संघीय सरकारको लगानी, त्यस यताका उपयुुक्त जमिनमा हात्तीले कम रुचि राख्ने तोरि खेती व्यापक गरेर (तोरि–मौरी अभियान) तेल र मह मार्फत किसानको आयवृद्दी, मौरी मार्फत हात्तीका लागि प्रतिकुल भूगोलको विकास ।
१५) हात्तीको समस्याबाट झापा जिल्लाको अन्य गाउँ र क्षेत्र पनि प्रभावित र आतंकित छन, यसको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तिनवटै तहको साझा योजना र पहल जरुरी छ ।
छलफल कार्यक्रममा काँग्रेस महामन्त्री शर्माको साथमा मन्त्री शाही ।
छलफलमा बाहुन्डाँगी समाजका हिरा आचार्य, मन वहादुर बाहिङ राई, मीन राई, गणेश बराल, नवीन बराल, सन्तोष नेउपाने, राजेन्द्र खनाल, दीलिप सोङमेन सहभागी हुनुन्थ्यो । त्यस्तै नेपाली काँग्रेस झापा १ काठमाडौ सम्पर्क समितिका सभापति प्रज्वल कोइरालाको पनि उपस्थिति रहेको थियोे । सहभागीहरुले हात्ती समस्या समाधानका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
वन मन्त्री शाहीले प्रस्तावित सुझावहरु कार्यान्वयन गर्न सरकार दृढ ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री शाहीले भन्नुभयो, ‘महामन्त्रीद्वारा प्रस्तुत भएको अवधारणा कार्यान्वयन गर्न सरकार दृढता पुर्वक लाग्नेछ ।’