काकरभिट्टा, असार ४ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि घट्नाको अनुसन्धानमा कानून सक्रिय भएको बेला राजनितिक हस्तक्षेप हुन नहुने बताउनु भयो । प्रेस क्लव मेचीनगरको स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शर्माले भन्नुभयो, ‘जब कानून सक्रिय हुन्छ, तब राजनिति चुप बस्नु पर्छ ।’
जुनसुकै तहको राजनितिककर्मी, कर्मचारी वा अन्य जोकोही भए पनि त्यस्तै व्यक्ति बिरुद्ध कुनै प्रश्न उठे कानूनी प्रक्रियाबाट नै अगाडी बढ्नु पर्ने सांसद शर्माले बताउनु भयो । वहाँले नियमित काम गर्दा पनि नकरात्मक सोच्ने मनोविज्ञानले समाजलाई गलत दिशामा लैजाने समेत बताउनु भयो । ‘निराशा पालेर समाज बन्दैन,’ शर्माले भन्नुभयो, ‘सकारात्मक उर्जा लिएर समाजलाई बलियो बनाउनु पर्छ ।’

वहाँले मिडिया कानून स्वनियमन खालको हुनु पर्ने र त्यसका बारेमा संसदमा कुरा उठाउने प्रतिबद्धता जनाउनु भयो । ‘मिडियालाई तर्साउने खालको कानून हुनु हुँदैन,’ शर्माले भन्नुभयो, ‘मिडिया कानून बनाउँदा स्वनियमनमा आधारित बन्नु पर्छ ।’
स्थापना दिवसको अवसरमा मेचीनगर पत्रकारिता पुरस्कारबाट पत्रकार मुक्ति पौडेल र मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पत्रकार किशोर उपरकोटीलाई सम्मान गरिएको थियो ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पाखरेल उप्रेती, पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनाली, झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, क्लवका संस्थापक अध्यक्ष सन्तोस आचार्य, सम्मानित पत्रकार मुक्ति पौडेल र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राख्नु भएको थियो । काकरभिट्टा खानेपानी उपभोक्ता समितिको सहकक्षमा सम्पन्न कार्यक्रम प्रेस क्लवका उपाध्यक्ष खगेन्द्र घिमिरेको स्वागत मन्तव्य र सचिव प्रविन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।