धुलाबारी, असार ३ । कोशी प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पसको आज एक समारोहकाबीच उदघाटन गरिएको छ । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकश शर्माले धुलाबारी क्याम्पसको इन्जिनियरिङ सङ्काय स्तम्भ अनावरण गर्दै प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पस उदघाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद शर्माले लोकतान्त्रीक गणतन्त्रले नै देश विकासमा योगदान दिन सक्ने बताउनु भयो । ‘लोकतान्त्रिक गणतन्त्रको पद्धतिले नै देशमा विकास गर्न सम्भव छ,’ नेपाली काँग्रेसका महामन्त्री सांसद शर्माले भन्नुभयो, हिजो भन्दा आज देश विकासले गतिलिएको छ ।’ वहाँले नकरात्मक कुरा गरेर मात्रै देश नबन्ने भन्दै सबै नागरिकले हामी देश बनाउँछौं भनेर संकल्प गरेर अघि बढे मात्रै देश बन्ने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य धर्मशिला चापागाईले धुलाबारी क्याम्पसमा इन्जिनियरिङ सङ्काय थप गर्ने काममा सहयाेग गर्न पाएकाेमा खुसि व्यक्त गर्नु भयाे । `याे क्याम्पसलाई प्राविधिक क्याम्पस बनाउने काममा जाेडिन पाएकाेमा खुसि लागेकाे छ,´ वहाँले भन्नुभयाे, `प्राविधिक बिषय अध्ययन गराएर नयाँ पुस्तालाई देश विकासमा लगाउनु पर्छ ।´
प्रदेश सांसद गोपाल तामाङले अवको आवश्यकता प्राविधिक शिक्षा नै भएकाले त्यसका लागि धुलाबारी क्याम्पस आकर्षणको केन्द्र बन्ने बताउनु भयो । नगरकै गौरबको रुपमा लिनु पर्ने इन्जिनियरिङ क्याम्पसको उदघाटन समारोहमा मेचीनगरका नगरप्रमुख र उपप्रमुखको उपस्थीति नहुनु आश्चर्य भएको भन्दै बक्ताहरुले आपत्ती प्रकट गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी र अग्रज पत्रकार चन्द्र भण्डारीले नगरपालिकाको नेतृत्वले कार्यक्रममा उपस्थीत नजनाएर प्राविधिक शिक्षा प्रति उदाशिनता देखाएको आरोप लगाउनु भयो ।
कार्यक्रममा बोल्दै सांसद शर्मा ।
धुलाबारी क्यम्पसका अध्यक्ष भिम खवासको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा क्याम्पस प्रमुख पुष्पराज पौडेलले क्याम्पसमा प्राविधिक विषय सञ्चालन गर्ने बिषयमा भएका प्रयास र वर्तमानमा क्याम्पसको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमकैबीच जग्गादाता, क्याम्पसको संस्थापक समिति, चन्दादाता, भवन निर्माण समिति लगायतलाई सम्मान समेत गरिएको थियो । प्रत्येक बर्ष ४८ जना विद्यार्थीले सिभिल इन्जिनियरिङमा अध्ययन गर्न मिल्ने र निजि क्याम्पसमा भन्दा कम शुल्कमा नै अध्ययन गराईने क्याम्पसका निर्देशक रुद्र मैनालीले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थापक सञ्चालक समितिका उपाध्यक्ष राम कट्टेल, भवन निर्माण समितिका अध्यक्ष चन्द्र कुमार श्रेष्ठ, एमाले नेता विष्णु प्रसाई लगायतले धुलाबारी क्याम्पस स्थापनाको स्मरण सुनाउनु भएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पुनित कुमार बंशलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम दामोदर ढुङ्गेललको सञ्चालनमा सम्पन्न भएको थियो ।