धुलाबारी, असार २ । झापाको धुलाबारी खानेपानी उपभोक्ता समिति थप नयाँ ओभरहेड टेंकी निर्माण शुरु गरेको छ । १९ करोड ३४ लाख ६२ हजार ८६६ रुपैयाँ लागतमा निर्माण हुने खानेपानी टेंकीको आज एक समारोहकाबीच प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले शिलान्यास गर्नु भएको छ ।
मेचीनगर ९ स्थीत पशुपति गाउँमा धुलाबारी खानेपानी संस्थाका पुर्व उपाध्यक्ष स्वर्गीय टंक प्रसाद भट्टराईले दानदिनु भएको दुई कठ्ठा १० धुर र खानेपानी समितिले खरिद गरेको त्यति नै क्षेत्रफलको जग्गा गरी जम्मा ५ कठ्ठामा बन्ने ४ लाख ५० हजार लिटर पानी क्षमताको ओभरहेड टेंकी र सुरक्षा गार्डबस्ने घर सहितको संरचनाको निर्माण २०८४ मंसिर ११ गते सम्पन्न गरिसक्नु पर्नेगरी ठेक्का लागेको धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका सांसद शर्माले स्वर्गीय टंक प्रसाद भट्टराईले दान दिनु भएको जग्गामा बन्ने खानेपानीको टेंकीलाई मेचीनगर ९, १०, ११, १४ र वडा नं १५ का केही भागहरुमा समेत खानेपानी वितरण गर्न सहज हुने बताउनु भयो । झापा क्षेत्र नं. १ मा मात्रै विभिन्न खानेपानीका योजनाहरु सञ्चालन भईरहेका र केही सञ्चालनको तयारीमा रहेका गरी करीब एक अर्बको बजेटको काम भइरहेको सांसद शर्माले बताउनु भयो ।
‘झापा १ को शान्तिनगर, बाहुनडाँगी, चारआली, चन्द्रगढी, धुलाबारी र काकरभिट्टा क्षेत्रहरुमा एक सय करोडको खानेपानीका योजनाहरुमा काम भइरहेको छ,’ शर्माले भन्नुभयो, ‘यसक्षेत्रका सबैे नागरिकले खानेपानी सहजह रुपमा पाउने वातावरण निर्माणका लागि सबै मिलेर काम गरिरहेका छौं ।’
.jpg)
कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङले विकास निर्माणका काममा जनप्रनिधिहरु लागि रहेकै भए पनि गणतन्त्रका विरोधीहरुले गलत हल्ला फैलाउने गरेको बताउनु भयो । वहाँले गणतन्त्रमा मात्रै जनताको काम हुने भन्दै गणतन्त्रको विकल्पै सोच्न नसकिने बताउनु भयो । मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले आम नागरिकको अपेक्षा धेरै हुने गरेको तर सिमित स्रोत साधनले विकास निर्माणको काम गर्नु पर्ने भएकाले पनि केही समस्या रहेको बताउनु भयो ।
कार्यक्रममा धुलाबारी खानेपानी संस्थाका संस्थापक अध्यक्ष राम कट्टेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, जग्गा दाता स्वर्गीय टंक प्रसाद भट्टराईका छाेरा अनिल भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा जग्गा दाता भट्टराईलाई मरणोप्रान्त सम्मान गरिएको थियो । वहाँको सम्मान बुवा तथा छोरा र बुहारीलाई प्रमुख अतिथिले हस्तान्तरण गर्नु भएको थियो । खानेपानी संस्थाका उपाध्यक्ष हिमालय आङदम्बेले स्वागन्त व्यक्त गर्नु भएको कार्यक्रम सचिव उमानाथ सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।