पाँचथर, असार १। पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जना मजदुरको ज्यान गएपछि सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। शनिबार साँझ मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलामा बेलिब्रिज जडानको क्रममा आकस्मिक रूपमा पुल भाँचिएको थियो।
घटनामा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ। तीमध्ये अन्य तीन मजदुर—भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको उपचार सोही अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
२०८० सालको असारमा आएको बाढीले पहिलाको स्थायी पुल बगाएपछि त्यहाँ बेलिब्रिज मार्फत यातायात सुचारु गरिएको थियो। तर, गत वर्ष असोज १२ गतेको अर्को बाढीले त्यो बेलिब्रिजसमेत बगाएपछि पुनः नयाँ प्रविधिको ७० मिटर लामो बेलिब्रिज जडान कार्य भइरहेको थियो। शनिबार सो बेलिब्रिज जडानको अन्तिम चरणमा पुगेको बेलामा दुर्घटना भएको हो।
दुर्घटनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयमार्फत घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा बनेको समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र विभागका सिनियर डिभिजन इन्जिनियर अमितकुमार वर्मा सदस्य रहनुभएको छ ।
समितिलाई पुल भत्कनुको कारण, जिम्मेवारीका पक्षहरू, प्राविधिक त्रुटिहरूको विश्लेषण, भविष्यमा यस्ता दुर्घटना नदोहरिने उपायहरू तथा तत्काल अस्थायी रुपमा यातायात सञ्चालन गर्न सकिने विकल्पबारे स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
पुल भत्किनु प्राविधिक कमजोरी, सुरक्षात्मक लापरवाही वा योजनामा त्रुटिको परिणाम हो कि भन्नेबारे विस्तृत छानबिनपछि मात्र स्पष्ट हुने जनाइएको छ।