मेचीनगर,जेठ २५ । झापाको मेचीनगरमा दुईवटा पशुरोगको संक्रमण पुष्टि भएको छ। यहाँका पशुहरूमा अफ्रिकन स्वाइन फ्लू र लम्पी स्किन रोग देखिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार मेचीनगरको वडा नम्बर २, ३, ७, ८, ९ र १४ का पशु चौपायामा लम्पी स्किनको संक्रमण देखिएको छ।
वडा नम्बर ६ मा रहेको बङ्गुर फर्ममा भने अफ्रिकन स्वाइन फ्लूको संक्रमण पुष्टि भएको छ। मेचीनगर–६ स्थित एक बङ्गुर फर्ममा ८० वटा बङ्गुर मरेपछि ‘अफ्रिकन स्वाइन फ्लू’को आशङ्का गरिएको थियो।
वैशाख २७ गतेदेखि धमाधम बङ्गुर मर्न थालेपछि नगरपालिकाको पशु सेवा शाखाले नमूना संकलन गरी जेठ ११ गते पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, विराटनगर पठाएको थियो। बिहीबार आएको परीक्षण रिपोर्टले मरेका बङ्गुरमा अफ्रिकन स्वाइन फ्लू पुष्टि गरेको हो।
यस्तै, वडा नम्बर २, ३, ७, ८, ९ र १४ मा लम्पी स्किनको संक्रमण देखिएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताउनुभयो । संक्रमण देखिएपछि प्राविधिक टोलीले किसानका गोठमै पुगेर उपचार थालेको उहाँले जानकारी दिनुभयो। संक्रमित क्षेत्रको ५ सय मिटर आसपासका किसानका गाई–गोरुहरुमा नगरपालिकाको पशु प्राविधिकको टोली गएर ‘रिङ भ्याक्सिन’ लगाइएको छ । शुक्रबार र शनिबार गरेर १५० वटा गाई–गोरुमा ‘रिङ भ्याक्सिन’ लगाइएको पशु सेवा शाखाका प्रमुख गुरुङले जानकारी दिनुभयो।
साथै,अफ्रिकन स्वाइन फ्लू प्रभावित बङ्गुर फार्म र वरपरका क्षेत्रमा पनि रोग फैलिन नदिन औषधोपचार र सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ। नगर क्षेत्रमा दुईवटा पशुरोगको संक्रमण देखिएपछि किसानहरुमा चिन्ता बढेको छ। उनीहरुले रोग नियन्त्रण र रोकथामका लागि थप प्रभावकारी कदम चाल्न स्थानीय सरकारसँग माग गरेका छन् ।