मेचीनगर, जेठ १४ । झापा मेचीनगर नगरपालिका वडा नं ६ स्थीत काकरभिट्टामा अज्ञात रोगका कारण एउटै फर्मका ८० वटा सुँगुर मरेका छन । रमाईलो गाउँस्थीत बबिता बगुँर फार्ममा पालिएका सुँगुर अज्ञात रोगका कारण वैशाख २७ गतेदेखि धमाधम मर्न थालेको र अहिलेसम्म ८० वटा सुँगुर मरिसकेको फार्मका सञ्चालक राजु विश्वकर्माले बताउनु भयो ।
‘वैशाख २७ गते एउटा सुँगुर मर्यो,’ विश्वकर्माले भन्नुभयो, ‘त्यसपछि हरेक दिनजसो सुँगुर मर्न थाल्यो ।’ वहाँका अनुसार १५ दिनका बच्चा ३० वटा, दुई दिनका बच्चा १० वटा दुई वटा भाले सुँगुरसहित मासुका लागि पालिएका र माउ सुँगुर गरेर ८० वटा मरिसकेको छ । ‘हाम्रो त खोर नै खाली भयो,’ सञ्चालक विश्वकर्माले भन्नुभयो, ‘अब दुई वटा बच्चा सुँगुर छ ति पनि विरामी अवस्थामा नै छ, सायद यी पनि बाच्दैनन होला ।’
धमाधम सुँगुर मर्न थालेको जानकारी पाएर जेठ ११ गते मेचीनगर नगरपालिकाको पशु सेवा शाखाले नमूना संकलन गरी पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा पठाएको थियो । त्यो रिपोर्ट पठाए पछि त्यस सम्बन्धी थप नमूना संकलन गर्न प्रयोगशालाको प्रादेशिक कार्यालय विराटनगर केन्द्रीय कार्यालय काठमाण्डौको प्राविधिक टोलि समेत जेठ १३ गते आएर नमूना संकलन गरेर फर्किएको मेचीनगरका पशु सेवा कार्यालयका अधिकृत छत्र राईले जानकारी दिनुभयो । ‘हामीले वैशाख ११ गते द्रुत नमूना संकलन गरेर पठायौं,’ राईले भन्नुभयो, ‘त्यस पछि केन्द्र र प्रदेशको टोली आएर थप नमूना संकलन गरेर फर्किएको छ ।’ राईका अनुसार कुन रोग र के कारणले सुँगुरहरु मरेका हुन भन्ने कुरा नमूनाको परीक्षणको नतिजा आए पछि मात्रै थाहा हुनेछ । नमूनाको नतिजा आउन केही दिन लाग्ने समेत राईले बताउनु भयो ।
फार्ममा पालिएका सबै सुँगुर मरे पछि आफुहरु संकटमा परेको फार्म सञ्चालकले बताएका छन । ‘हाम्रो त सबै व्यवहार गर्ने नै यही फार्म थियो,’ सञ्चालक राजु विश्वकर्माले भन्नुभयो, ‘छोराछोरी पढाउने, घर खर्च चलाउने सबै फार्मबाटै गर्दै आएका थियौं अब त छोराछोरीको विद्यालयको शुल्क पनि तिर्न नसक्ने भयौं ।’ आफुहरुले दर्ता गरेर फार्म सञ्चालन गरेको र करीब १३ लाख लगानी डुबेको अर्का सञ्चालक बबिता रामदामले बताउनु भयो । ‘हाम्रो सबैथोक सकियो,’ वहाँले भन्नुभयो, ‘हामीलाई नगरपालिकाले राहत उपलब्ध गराईदियोस ।’