झापा,जेठ ११। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले २०७८ सालदेखि २०८१ चैत्र मसान्तसम्मको आर्थिक कारोबार विवरण जिल्ला निर्वाचन कार्यालय,झापामा बुझाएको छ।
निर्वाचन कार्यालयले यसलाई जिल्लामै पहिलोपटक कुनै राजनीतिक दलबाट स्वेच्छिक रूपमा बुझाइएको आर्थिक विवरण भएको जनाएको छ।
पार्टीको आर्थिक कारोवार २५ लाख ६ हजार ६१५ रुपैयाँ रहेको छ। जिल्ला पार्टी इन्चार्ज निलमणी बराल, सह–इन्चार्ज चन्द्रा श्रेष्ठ,अध्यक्ष बीपी भट्टराई, उपाध्यक्ष सरस्वती लिम्बू, सचिव सानुकुमार लामा, उपसचिव श्रीप्रसाद मिश्र र उदय बराइली, तथा जिल्ला कमिटी सदस्य लक्ष्मण खतिवडा लगायतको टोलीले निर्वाचन कार्यालयमा विवरण बुझाएको हो ।
विवरण बुझ्दै झापा निर्वाचन कार्यालय प्रमुख तुलकुमार नेपालले पार्टीको यो कदमको प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “हामीले पत्र काटेपछि मात्र दलहरू आउँथे। तर समाजवादी पार्टी झापाले स्वेच्छिक रूपमा विवरण बुझाएर उदाहरणीय काम गरेको छ।”
पार्टीले हाल ‘शुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ आन्दोलन गरिरहेको पार्टीका झापा अध्यक्ष बीपी भट्टराईले जानकारी दिनुभयो । राजनीतिक आचरणमा पारदर्शिता नहुँदासम्म समाजवादको सपना केवल नारा मात्रै हुने भन्दै उहाँले समाजवादी पार्टीको यो कदमले झापामा मात्र नभई देशभर राजनीतिक पारदर्शिता र जवाफदेहिताको नयाँ अभ्यास सुरु हुने बताउनुभएको छ ।