धुलाबारी, जेठ २। कोशी प्रदेशको अब्बल मध्येको एक विद्यालय धुलाबारी माविले शुक्रबार एकसाथ दुई वटा महत्वपुर्ण कार्य एकै साथ सम्पन्न गरेकाे छ । विद्यालयले `विद्यालय गीत´ सार्वजनिक गरेकाे छ भने एकै पटक १० लाख ४० हजार छात्रवृत्ति वितरण गरेकाे छ ।
स्थापनाको ७५ वर्षे इतिहासमा पहिलो पटक "सबैको लागि शिक्षा, सबैका लागि खेलकुद" मुख्य विषय बनाएर विद्यालय गीत सार्वजनिक गरेको हो । गीतको रचना विद्यालयका शिक्षक मिलनकुनार ढुंगानाले गर्नुभएको हो । संगीत भविन ढुंगानाको छ । भविन, रोशा फुयाल , सुनिता तामाङ र भानुभक्त ढकालले स्वर दिनु भएकाे गीत आज एक कार्यक्रमकाबीच मेचीनगरका प्रमुख गाेपालचन्द्र बुढाथाेकीले डिजिटल डिस्प्लेमा क्लिक गरेर सार्वजनिक गर्नु भएकाे हाे । गीतका संगीतकार भविन ललितकला क्याम्पस काठमाण्डाैका प्राध्यापक हुनुहुन्छ । गीत ४ मिनेट १० सेकेन्डको छ ।
विद्यालयले आज सार्वजनिक गरेको गीतमा निकट दिनमा नै विद्यार्थी बीच टिकटक प्रतियोगिता गर्ने योजना गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताउनुभयो । शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रहेको विद्यालयले गीत निर्माणसँगै ऐतिहासिक फड्को मारेको प्रअ लुइँटेलले बताउनुभयो ।
आजै विद्यालयका १३० जना विद्यार्थीलाई जनही आठ हजारका दरले छात्रवृत्ति वितरण गरेको छ । विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत एक हजार तीनसय विद्यार्थी मध्येबाट छनोट गरी सहिद विरेन राजवंशी छात्रवृत्ति वितरण गरिएको हो ।
छात्रवृत्ति नगरपालिकाका प्रमुख बुढाथोकी, नगरपालिकाका सामाजिक विकास समिति संयोजक ह्रदय राजवंशी , शिक्षा अधिकृत होमनाथ भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्वाङले वितरण गर्नुभएको हो । धुलाबारी माविको कक्षा ११ र १२ मा अध्यनरत १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।
घरमा खाना खाएर विद्यालय जाने विद्यार्थीलाई वर्षभरको पोसाक र स्टेसनरी अभाव टार्न छात्रवृत्ति उपलब्ध गराइएको कार्यक्रममा बताइयो ।विद्यालयले उद्देश्य अनुरुप नै छात्रवृत्ति वितरण गरेको विव्यास शिक्षक प्रतिनिधि धनु भट्टराईले बताउनुभयो ।
अध्यक्ष नेम्वाङ्गकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले कार्यक्रमका बिषयमा जानकारी गराउदै स्वागत मन्तव्य गर्नु भएकाे थियाे । प्रधानाध्यापक लुईटेंलले विद्यालयकाे विगत, वर्तमान र भावी योजना र शैक्षिक गतिविधिका बारेमा प्रष्ट्याउनु भएको थियो । उहाँहरुले विद्यालयले शैक्षिक स्तरवृद्धिमा स्थानीय अभिभावकको भूमिका अपरिहार्य रहेको र आफूहरू इमानदार प्रयासका साथ लागिपरेको बताउनुभयो । शिक्षक रमेश दाहालले सञ्चालन गर्नु भएकाे कार्यक्रममा गीतका रचनाकार ढुंगानाले गीत निर्माणका बिषयमा जानकारी गराउनु भएकाे थियाे ।