मेचीनगर, वैशाख २४ । झापाको मेचीनगर नगरपालिका १० स्थीत धुलाबारी बजार क्षेत्रको निर्माणाधिन सडकको डिजाईन संशोधन गर्ने प्रक्रिया अगाडी बढेको छ । अहिलेकै डिजाईनमा सडक निर्माण गर्दा धुलाबारी चोक उत्तरतर्फको बजार क्षेत्रका घरहरुको केही भाग भत्किन सक्ने भएकाले निर्माणाधिन अवस्थामा नै सडकको डिजाईन संशोधन गर्ने मेचीनगर नगरपालिकाले निर्णय गरेको छ ।
नगरकार्यपालिकाको २०८२ वैशाख ४ गते बसेको बैठकले उक्त सडकको धुलाबारी चोकदेखि उत्तर तर्फ करीब १२ सय मिटर क्षेत्रफलको डिजाईन संशोधन गरी सडक निर्माणलाई निरन्तरता दिने निर्णय गरेको छ । नगरपालिकाले डिजाईन संशोधनका लागि तोकेको क्षेत्रफल धुलाबारीको मुख्य बजार क्षेत्रमा पर्दछ । यो क्षेत्रमा यस अघि पनि उत्तर तर्फको भन्दा सडकलाई साँघुरो पारेर निर्माण सुरु गरिएको थियो । नगरपालिकाको पछिल्लो निर्णयले यो क्षेत्रमा सडक थप साँघुरो हुने अवस्था बनेको छ ।
नगरपालिकाको निर्णयमा भनिएको छ, ‘निर्माणाधिन शहिद मार्ग सडक खण्ड अन्तर्गतको धुलाबारी चोकको चेनेजदेखि करीब १२०० मिटर सम्मको क्षेत्रफलमा स्थानीय बजारबासीको अनुरोध बमोजिम स्वीकृत सडक डिजाईनमा आवश्यक संशोधन गरी विद्यमान सडकको क्षेत्राधिकार भित्र दुवै तर्फ खानेपानीको पाइपलाईन, नाला र बाँकी रहेको भाग सडक कालोपत्रे गर्ने गरी सडक स्तरोन्नती कार्यलाई निरन्तरता दिने निर्णय गरियो ।’
धुलाबारी बजार क्षेत्रको सडक निर्माणलाई समयमा नै सम्पन्न गर्न केही संशोधन गरी निर्माण कार्य अगाडी बढाउने निर्णय गरेको मेचीनगरका प्रवक्ता दिपक बरालले बताउनु भयो । ‘नगरपालिकाको पछिल्लो निर्णयले अन्योलमा रहेको धुलाबारीको सडक निर्माण पुरा हुने अवस्था बनाउँछ,’ प्रवक्ता वरालले भन्नुभयो, ‘अहिले सडक निर्माणमा केही समस्या आएको छ, त्यसलाई सहजिकरण गर्ने गरी निर्णय गरिएको हो ।’
बर्षौ पुराना घर भत्काएर सडक निर्माणलाई अगाडी बढाउन नसकिने मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनु भयो । ‘घरको बरण्डा भन्दा भित्रबाट खानेपानीको पाइप कुदाउने डिजाईन गरेको रैछ,’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘त्यसलाई सहजिकरण गरेर सडक बनाउँछौं ।’
सडक निर्माणलाई समयमा नै सम्पन्न गर्नु पर्ने भएकाले त्यसका लागि आवश्यक प्राविधिक सहयोग गर्न तयार रहेको नेपाल शहरी साशकीय तथा पुर्वाधार अयोेजनाले जनाएको छ । कामु आयोजना निर्देशक झप्परसिंह विश्वकर्माले धुलाबारीको सडक निर्माणका लागि प्राविधिक जनशक्ति नगरपालिकाले नै व्यवस्थापन गरिरहेको र नगरपालिकाको क्षमताले नभ्याउने अवस्थामा सहयोग गर्ने बताउनु भयो । ‘सडक निर्माणको काम समयमा नै सम्पन्न गर्नु पर्छ,’ आयोजना निर्देशक विश्वकर्माले भन्नुभयो, ‘निर्माणमा समस्या भए डिजाईन परिवर्तन गरेर भए पनि तोकिएकै समयमा सडकको काम पुरा गर्नु पर्छ ।’ डिजाईन परिवर्तन गर्नु पर्ने अवस्था आएमा नगरपालिकासंग छलफल गरेर निर्णय गरिने आयोजना निर्देशक विश्वकर्माले बताउनु भयो ।
नेपाल सरकार, नेपाल शहरी साशकीय तथा पुर्वाधार अयोेजनाको अनुदान सहयोगमा निर्माण भइरहेको धुलाबारी चोकदेखि उत्तर तर्फ मेचीनगर वडा नं. ९ र १० मा पर्ने शहिद मार्गको ५ किलोमिटर ४७० मिटर लम्बाईको सडक अहिले धमाधम निर्माण भइरहेको छ । मेचीनगर ९ तर्फ निर्माणको काम अन्तिम चरणमा पुगेको भए पनि वडा नं. १० को बजार क्षेत्रमा भने सडक निर्माणको काम केही समयदेखि रोकिएको छ ।
निर्माण सुरु हुँदा पहिलो खण्ड अन्तर्गत धुलाबारी चोकबाट २७० मिटर उत्तरसम्म नाला सहित १२ मिटर ६० सेन्टीमिटर चौडाई, दोस्रो खण्डमा एक किलोमिटर ५९० मिटर क्षेत्रमा नाला सहित १३ मिटर २० सेन्टीमिटर चौडाई र तेस्रो खण्डमा बाँकी रहेको अर्थात ३ किलोमिटर ६१० मिटर क्षेत्रमा सडकको चौडाई नाला सहित १८ मिटर हुने गरी डिजाईन गरिएको थियो । यस अघि नै बजार क्षेत्रमा सडकको चौडाई साँधुरो बनाइएको थियो । नगरपालिकाको पछिल्लो निर्णयले धुलाबारीको मुख्य बजार क्षेत्रको सडकको चौडाइ थप साँघुरो हुने भएको छ ।
२७ करोड २१ लाख ३ हजार ९३१ रुपैया लागतमा निर्माण भइरहेको शहिद मार्ग २०८२ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी निर्माण व्यवशायीसंग नगरपालिकाले सम्झौता गरेको छ ।
हेर्नुहोस, २०८२ वैशाख ४ गतेको नगरकार्यपालिका बैठकको निर्णय ।
