झापा, माघ २४ । २०७१ सालमा झापाको धुलाबारी स्थीत रेडियो सरगममा कार्यक्रम सञ्चालन शुरु गरेर पत्रकारितामा उदाउनु भएका हरिकृष्ण भण्डारीले करीब १० बर्षे पत्रकारिता पछि अब पुराणको कथा वाचनमा आफ्नो पाइला अगाडी बढाउनु भएको छ । झापा मेचीनगर १२ सहरेडाँगीका भण्डारीको नामको अगाडी अहिले पण्डितको उपाधी थपिएको छ ।
गुरुकुल शिक्षाबाट आफ्नो अध्ययन शुरु गर्नु भएका पण्डित भण्डारीले सानै उमेरदेखि मेचीनगर १२ स्थीत श्रीमाधव संस्कृत विद्याश्रममा अध्ययन गर्नु भएको थियो । प्रारम्भिक अध्ययन संस्कृतबाट शुरु गर्नु भएका भण्डारीले विज्ञानको समेत गहन अध्ययन गरि काठमाण्डौस्थीत बैंकटेस मन्दीरको गुरुकुलमा भागवत अध्ययन पुरा गरी पुराण वाचन तथा कथा प्रवचनका लागि पण्डितको उपाधी पाउनु भएको छ ।

सुमधुर स्वरका धनी पण्डित भण्डारीको वाक कला सुन्न लायक छ । हरेक बिषयलाई विभिन्न उदाहरण प्रस्तुत गरेर बुझाउन सहज बनाउन सक्ने खुबिका कारण पनि भण्डारीलाई पुराणको कथा वाचनमा स्थापित गराउने उहाँलाई नजिकबाट बुझ्नेहरुले विश्वास लिएका छन । आध्यात्मिक परिवारमा हुर्किनु भएका पण्डित भण्डारी एक स्पष्ट वक्ताका रुपमा समेत यस अघि नै स्थापित भइसक्नु भएका युवा हुनुहुन्छ ।
करीब दश बर्ष पत्रकारितासंगै व्यक्तित्व विकाश र नेतृत्व क्षमता विकाससंग सम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गरेर सफल प्रशिक्षकका रुपमा ख्याति कमाउनु भएका भण्डारीले अब श्रीमद्भागवतको व्यासमा बसेर पुराणको कथा वाचनमार्फत आफ्नो परिचयको आयतनलाई थप फाराकिलो बनाउँदै हुनुहुन्छ ।

भारतको सम्पुर्णानन्द विश्वविद्यालयमा संस्कृत व्याकरण विषय लिई आचार्य (स्नातकोत्तर) अध्ययनत पण्डित भण्डारीले फागुन ७ गतेदेखि १४ गतेसम्म माधव सस्कृत विद्धाश्रममा आयोजित श्रीमद्भागवत सप्ताह एवं धनधान्याचल विराट् ज्ञान महायज्ञमा पहिलो पटक कथा वाचन गर्दै हुनुहुन्छ ।
बिगतमा रेडियोमा कार्यक्रम चलाउनेक्रममा भण्डारी ।
आमसञ्चार र पत्रकारिता बिषयमा स्नातक तहको अध्ययन समेत पुरा गर्नु भएका २६ बर्षिय भण्डारीले कथा वाचनमा समाजले खोजिरहेको नवीनता थप्ने बताउनु भएको छ । वेद र विज्ञान दुवै क्षेत्र बुझ्नु भएका भण्डारीको कथा वाचनबाट पुराणको कथा वाचन र प्रवचनमा नयाँ आयाम आउने विश्वास गर्न सकिन्छ । ध्यान र योगमा समेत गहिरो रुची राख्नु हुने पण्डित भण्डारीको कथा वाचन र प्रवचनमा सहभागि भएर सबैले हौसला बढाउन मेचीनगर १२ स्थीत श्रीमाधव संस्कृत विद्याश्रम परिवारले सबैलाई आग्रह समेत गरेको छ ।