झापा,पुस २३ । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई अदालतले जेल चलानको आदेश दिएपछि पनि अस्पतालमा नै राखिएको छ ।
गत मंसिर २४ गते पक्राउ परे यता २५ दिनको अनुसन्धान अस्पतालमा बसेर कटाएका शिवाकोटीले झापा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिँदासमेत कारागार बस्नु नपरेको हो ।
झापा कारागारका प्रमुख रेवन्त भट्टराईले अदालतको पत्र बमोजिम केही मेडिकल चेकजाँच गर्नुपर्ने भनिएकाले अस्पतालमा भर्ना गरिएको बताउनुभयो । चिकित्सकको सल्लाह अनुसार के कति दिन राख्नुपर्ने हो सोही अनुसार अस्पतालमा राखिने उहाँको भनाई छ । शिवाकोटीले आफूलाई गाह्रो भइरहेको बताएपछि कारागारबाट अस्पताल पठाइएको कारागार प्रमुख भट्टराईको भनाई छ ।
हिजो भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । आदेशमा शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था भनिए अनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिनुभयो ।
स्वास्थको कारण देखाउदै पक्राउ परेको दिनदेखि नै बिर्तामोडको बीएण्डसी अस्पतालमा बसेका शिवाकोटीलाई बिर्तामोड प्रहरीले अदालतसंग पाँच पटक म्याद थपेर २५ दिनसम्म अनुसन्धान गरेको थियो । यो अवधीमा बीएण्डसी अस्पतालबाटै शिवाकोटीलाई अदालत लगिन्थ्यो र अदालतबाट सिधै अस्पताल भर्ना गरिन्थ्यो ।
प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई मुद्दा जिम्मा लगाउँदा,सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गराउँदा र अदालतले बयान लिइसक्दा पनि शिवाकोटीलाई अस्पतालमा नै राखिएको थियो । अहिले अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिँदासमेत शिवाकोटीलाई अस्पतालमै राखिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।