विर्तामोड, पुस २३ । महिला उद्यमी संघ नेपाल झापा शाखाको अध्यक्षमा शर्मिला अधिकारी चयन हुनु भएको छ । सोमबार बिर्तामोडमा सम्पन्न संघको नवौं साधारण सभाले अध्यक्षमा अधिकारी सहित बरिष्ठ उपाध्यक्षमा युनिता दवाडी, महासचिवमा दिपा श्रेष्ठ, सहसचिवमा पुनम घिमिरे र कोषाध्यक्षमा उमा पाखेरेल सर्बसम्मत चयन हुनु भएको निर्वाचन समिति संयोजक नैनकला भट्टराईले बताउनु भयो । त्यस्तै कार्यसमिति सदस्यहरुमा लक्ष्मी मिश्र, बोलो राजवंशी, अञ्जु निरौला, गोमा पोखरेल, विष्णु श्रेष्ठ, पुष्पा पोखरेल र हेलेन खरेल सर्बसम्मत रुपमा चयन हुनु भएको भट्टराईले जानकारी दिनुभयो ।

संघकी झापा अध्यक्ष सुस्मा पौडेललेको सभापतित्व तथा केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष पौडेलले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आफ्नो दुई बर्षे कार्यकालमा महिलाहरुलाई उद्यमशीलतासंग जोड्ने विभिन्न १२ वटा कार्यक्रम सम्पन्न गरेको अध्यक्ष पौडेलले आफ्नो प्रतिवेदनमा प्रस्तुत गर्नु भएको थियो । यो अवधीमा संघको ११ वटा बैठक सम्पन्न भएको समेत अध्यक्ष पौडेलले जानकारी गराउनु भयो ।

साधारण सभाको अवसरमा दुई महिला उद्यमीलाई सम्मान समेत गरिएको थियो । सफल महिला उद्यमी पुरस्कारबाट दीपा खरेललाई सम्मान गरिएको थियो । वहाँलाई सप्तकोशी डेभलपमेन्ट बैंकका तर्फबाट नगद २० हजार र संघका तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट जमुना राईलाई सम्मान गरिएको थियो । वहाँलाई एक्सल डेभलपमेन्ट बैंकका तर्फबाट नगद १५ हजार र संघका सम्मान पत्र प्रदान गरिएको थियो ।

साधारण सभाको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि शोभा ज्ञवालीले महिलाहरुलाई उद्यमशीलासंग जोड्ने कुरामा झापाले राम्रो शुरुवात गरेको बताउनु भयो । केन्द्रीय अध्यक्ष ज्ञवालीले महिलाहरुका लागि शीपमुलक तालिम सञ्चालनका लागि नगद २५ हजार समेत संघलाई उपलब्ध गराउनु भएको जिल्ला अध्यक्ष पौडेलले बताउनु भयो ।

कार्यक्रममा संघकी केन्द्रीय उपाध्यक्ष बासन्ती श्रेष्ठ, बिर्तामोड नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रोहित प्रसाई, सप्तकोशी बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल, एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कट्टेल, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संघले सञ्चालन गरेको दुना टपरी बनाउने तालिमका प्रशिक्षकहरु अञ्जना अधिकारी, वेदकुमारी सुवेदी, दुर्गा अधिकारी, गोमा प्रसाई र बिना प्रसाईलाई समेत सम्मान गरिएको साधारण सभामा १० जना नयाँ सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको अध्यक्ष पौडेलले बताउनु भयो । संघकी संस्थापक अध्यक्ष गोमा भट्टराईले औचीत्यमाथी प्रकाश पारेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव युनिता दवाडीले गर्नु भएको थियो ।