झापा ,पुस ९ ।थाइल्यान्डको बैंककमा आयोजित ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिन सफल झापा बाह्रदशीकी मनिषा राजबंशीले आफनो समुदायलाई विश्वजगतमा चिनाउन पाएकोमा गर्व लागेको बताउनुभएको छ ।
बाह्रदशीको वडा नम्बर ६,कुमाइ गाँउमा हुर्किएर ४३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै राजबंशी समाजबाट पहिलोपटक अन्तर्राष्ट्रिय उपाधी जित्दै गर्दा ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भन्ने स्थापित गर्न सफल भएको उहाँको भनाई छ ।
सोमबार प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकार भेटघाटमा मनिसाले अन्र्तराष्ट्रिय मञ्चमा राजबंशी समुदायको भाषा, कला, पहिरन र संस्कृति प्रस्तुत गरेको बताउनुभयो । शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्न सफल भएको भन्दै उहाँले राजबंशी समुदायका छोरीहरु लाई शिक्षा प्राप्तीको लागि सहज वातावरण बनाइदिनु पर्नेमा जोड दिनुभयो ।
समाज शास्त्रमा एमए गर्नुभएकी मनिषाले हाल राजवंशी समुदायको बारेमा थेसिस गरिरहनुभएको छ । उहाँले यसअघि ‘मिस राजबंशी’को उपाधि समेत जितेकी जित्नुभएको थियो ।

पत्रकार सम्मेलनको आयोजना काजी मिडिया एन्ड टेक्नोलोजीले गरेको थियो । प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा मनिषाकी आमा उर्मिला राजबंशी, हजुरआमा दिनु राजबंशी, राजबंशी समाज विकास समितिका अध्यक्ष उत्तम राजबंशी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन काजी मिडियाकी सञ्चालक एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको उपाध्यक्ष अम्बिका भण्डारीले गर्नुभएको थियो ।