धाइजन, जेठ २६ । जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले मान्छेको पुजा नहुने तर उसको कर्मको पुजा हुने बताउनु भयो । मेचीनगर १२ स्थीत माधव संस्कृत विद्याश्रमको २६ औं साधारण सभा तथा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै जगतगुरुले भन्नुभयो, ‘कर्म नै सर्वोच्च कुरा हो, मान्छेको पुजा हुँदैन कर्मको मात्रै पुजा हुन्छ ।’ वहाँले नेपाली समाजमा जिउँदो हुन्जेल मान्छेको कर्म नचिन्ने र मरे पछि मात्रै उसको बारेमा चर्चा हुने गरेको बताउनु भयो । मान्छे जिउँदो हुँदै उसको कर्मलाई चिन्न सक्नु पर्छ, वहाँले भन्नुभयो, ‘नेपालको भुमि भगवानले पनि मन पराएको भएकाले वेद र पुराणमा समेत नेपालको चर्चा गरेको छ ।’
कार्यक्रममा बोल्दै झापा क्षेत्र न १ का सांसद विश्वप्रकाश शर्माले धेरै काम भएको र अझै गर्न बाँकी रहेको भन्दै समाजमा निराशा फैलिएको अवस्थालाई चिर्नु पर्ने बताउनु भयो । ‘आज भन्दा १० बर्ष अघिको तुलनामा अहिले समाजमा धेरै काम भइरहेका छन तर पनि मानिसमा निराशा बढ्दो अवस्थामा छ,’ सांसद शर्माले भन्नुभयो, ‘निराशाकै कारण कम उमेरका युवाहरुले आत्महत्या गर्ने गरेकाले त्यसलाई हटाउन समाजमा उत्साह जगाउन सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्छ ।’
![](https://www.setopatra.com/uploads/editor/2024-06-08/141739626jagat guru 1.jpg)
कार्यक्रमकैबिच नेपाल वैदिक महर्षि फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई सम्मान समेत गरिएको थियो । बाँस्कोटालाई जगतगुरुले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको थियो । सो अवसरमा बाँस्कोटा सहित पाँच जनालाई सम्मान गरिएको थियो ।
![](https://www.setopatra.com/uploads/editor/2024-06-08/141757495jagat guru 2.jpg)
कार्यक्रममा माधव संस्कृत विद्याश्रमको रजत स्मारिकाको समेत लोकार्पण गरिएको थियो । जगतगुरु, सांसद शर्मा र सम्मानित व्यक्तित्व बाँस्कोटाले स्मारिकाको संयुक्त लोकापर्ण गर्नु भएको थियो ।
कार्यक्रममा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, सम्मानित व्यक्तित्व बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम विद्याश्रमका अध्यक्ष डिल्लिराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।