काकरभिट्टा, जेठ ३ । काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि एमाले र जसपाले संयुक्त रुपमा उम्मेद्वार उठाउने निर्णय गरेका छन । आगामी जेठ २६ गते हुने निर्वाचनका लागि एमाले जसपा गठबन्धनका तर्फबाट एमालेका सन्तोस आचार्यलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको नेकपा एमाले जिल्ला सदस्य राजु पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले दिएको जानकारी अनुसार उपाध्यक्षमा एमालेका गोविन्द गिरी, सचिवमा जसपाका दिलिपजंग सुब्बा र कोषाध्यक्षमा एमालेका विमला तामाङलाई उम्मेद्वार बनाउने निर्णय भएको हो । गिरी र सुब्बा बर्तमान समितिका समेत उपाध्यक्ष र सचिव हुनुहुन्छ ।
समितिको ५ जना कार्यसमिति सदस्य मध्ये ४ जना एमालेका र एक जना जसपाका हुने गरी सहमति भएको पोखरेलले बताउनु भयो । वहाँका अनुसार लेखा समिति एक जना सदस्य जसपाले लिने समेत सहमति भएको छ । लेखा समिति संयोजक र सदस्यहरुको नाम भने आज टुङ्गो लगाएर भोलि शुक्रबार उम्मेद्वारी घोषणा गर्ने कार्यक्रम रहेको पोखरेलले बताउनु भयो ।
यस अघि बुधबार नेपाली काँग्रेसको नेतृत्वमा पाँचवटा दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राप्रपा र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट काँग्रेसका रोहित बुढाथोकीको अध्यक्ष रहने गरी लोकतान्त्री साझा प्यानलका उम्मेद्वार घोषणा गरिसकेका छन । उक्त गठबन्धनबाट उपाध्यक्ष माओवादीका राजु दाहाल, सचिवमा काँग्रेसका विशाल तामाङ र कोषाध्यक्ष एकिकृत समाजवादीकी विमला देवकोटाको उम्मेद्वारी घोषणा भइसकेको छ ।
त्यस्तै लेखा समिति संयोजकमा राप्रपाका किशोर भण्डारी उम्मेद्वार हुनु भएको लोकतान्त्रीक साझा प्यानलबाट सदस्यहरुमा कांग्रेसबाट सीतादेवी कार्की र केशरजंग भट्टराई, माओवादीबाट पवित्रा तिवारी,राप्रपाबाट इन्द्र प्रधान तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर योङहाङ उम्मेदवार बन्नुभएको छ ।