झापा, मंसिर १२ । घरेलु कामदारको रुपमा कुवेत पुगेर समस्यामा परेकी मेचीनगर १३ की खिल राजबंशीको परिवारलाई झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आज भेट गर्नु भएको छ । खिल राजबंशीकी आमा चिनी राजबंशीले छोरीलाई नेपाल फर्कादिन आग्रह गरेको समाचार सेतोपत्रमा सार्वजनिक भए लगत्तै त्यस बिषयमा चासो राख्नु भएका सांसद शर्माले मेचीनगर १३ तेलीबारीस्थीत राजबंशीको घरमा पुगेर आमा चिनी र खिलकी सानी छोरीलाई भेटेर कुवेतबाट नेपाल फर्काउने प्रक्रिया शुरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ । खिलकी आमा चिनी राजबंशीले आफ्नो छोरीलाई जसरी पनि नेपाल फर्काइदिन सांसद शर्मासंग आग्रह गर्नु भएको थियो ।
‘तपाइको छोरीलाई नेपाल फर्काउन म लाग्छु तपाई चिन्ता नलिनु,’ खिल राजबंशीकी आमालाई सांसद शर्माले भन्नुभयो, ‘उहाँको अवस्था के छ बुझेर कसरी छिटो ल्याउन सकिन्छ त्यस काममा म लाग्छु ।’ ‘परिवारसंग कुरा गर्दा खिल राजबंशी श्रम स्वीकृति नलिई कुवेत पुगेको हो कि भन्ने अवस्था छ,’ सांसद शर्माले भन्नुभयो, ‘त्यस्तो अवस्थामा नेपाल फर्काउने प्रक्रिया अलि ढिलो हुन सक्छ तर पनि दुवै तर्फका सरकारलाई भनेर भए पनि उहाँलाई नेपाल फर्काउनु पर्छ ।’
नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका शर्माले राजबंशीकै घरबाट बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका महानिर्देशक मदन दाहाललाई फोनमा कुरा गरेर तत्काल नेपाल फर्काउने बिषयमा समन्वय गर्न आग्रह गर्नु भएको थियो । महानिर्देशक दाहालले शर्मासंग कुरा गर्दै घरेलु कामदारका लागि नेपाली महिलालाई कुवेतमा स्वीकृति नदिएको बताउनु भएको थियो ।
महानिर्देशक दाहालले मेनपावर व्यवशायी र दलालहरु मिलेर श्रमस्वीकृति नलिई सरकारको आँखा छलेर कुवेत पुर्याएको हुन सक्ने बताउनु भयो । त्यस्तो बेला नेपाल फर्काउन केही समय लाग्ने दाहालको भनाई छ । सम्पूर्ण कागजात संकलन गर्ने र राजबंशीलाई नेपाल फर्काउने कानूनी प्रक्रियामा लाग्ने सांसद शर्माले बताउनु भयो ।
गत असोज ३ गते कुवेत पुग्नु भएकी खिल राजबंशीले घरमा बन्धक बनाएको, खाना खान नदिएको र बिरामी हुँदा समेत काम गर्ने घरधनीले उपचार नगरेको भन्दै आमासंग टेलिफोनमा बताउने गर्नु भएको छ । आफुलाई जसरी पनि नेपाल फर्काइदिन खिलले आमा मार्फत अनुरोध गर्नु भएको छ ।
यो पनि पढ्नुहोस ।
https://www.setopatra.com/detail/4730