काकरभिट्टा, मंसिर १२ । प्यारीभिट्टा बसपार्कमा सञ्चालन हुन नसक्नुमा नगरपालिकाबाट गठित समिति नै कारक रहेको प्यारीभिट्टाका स्थानीयहरुले आरोप लगाएका छन । ‘काकरभिट्टामा व्यापार व्यवशाय भएकाहरुले प्यारीभिट्टामा बस आउनै दिदैनन,’ स्थानीय यमनाथ शिवाकोटीले भन्नुभयो, ‘तिनै व्यक्तिहरु बसपार्कको समितिमा बसेका छन, त्यसैले बसपार्क नचलेको हो ।’ प्यारीभिट्टा बसपार्क सञ्चालनका लागि यही क्षेत्रका स्थानीयलाई जिम्मा दिनु पर्ने शिवकोटीले बताउनु भयो ।
२०७४ सालमा बसपार्क उदघाटन गरे पछि केही समय राम्ररी सञ्चालनमा आएको प्यारीभिट्टा बसपार्क नगरपालिकाकै कमजोरीका कारण सञ्चालन हुन नसकेको अर्का स्थानीय गणेश श्रेष्ठ बताउनु हुन्छ । ‘शुरुमा ६/७ महिना राम्ररी चलेको थियो,’ श्रेष्ठले भन्नुभयो, ‘तर नगरपालिकाले वास्ता नगरे पछि बन्द भयो ।’ भर्खरै नगरपालिकाले १५ लाख रुपैयाँ खर्च गरेर मर्मत गरेका बिजुलीका बल्वहरु बल्न छोडेको र अत्यन्तै कमसल खालका बिद्युतका सामान प्रयोग भएको पनि स्थानीयहरुको आरोप छ । ‘केही सिमित व्यक्तिहरुको सेन्टिगेटले बिगारेको छ,’ यमनाथ शिवाकोटीले भन्नुभयो, ‘काकरभिट्टाका मान्छे राखेर प्यारीभिट्टा बसपार्क चल्दैन ।’
बसपार्कको गेटमै घर हुनु भएकी जुनु रम्तेलले भन्नुभयो, ‘जुन मेयर आए पनि काम देखाउन मात्रै उदघाटन गर्छन तर बसपार्क चैं चलाउन ध्यान दिदैनन ।’ बसपार्क चल्छ भनेर पसल गर्नका लागि भनेर किनेर ल्याएको घुम्ती पनि कुहिएर गएको रम्तेलको गुनासो छ ।
बन्द अवस्थामा रहेका प्यारीभिट्टा बसपार्कका व्यवशायीक प्रयोजनका सटर ।यसैबिषयमा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले छिट्टै बसपार्कलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । सेतोपत्रसंग कुरा गर्दै घिमिरेले भन्नुभयो, ‘टाढाबाट आएका बसहरुको मर्मत गर्नु पर्ने, हावा हेर्नु पर्ने र सफाइ लगायतका काम गर्नु पर्ने भएकाले ग्यारेज बसपार्क भित्रै चाहिने भएकाले पनि बसहरु आएका छैनन अब हामी ग्यारेज सहितको सुविधा बसपार्क भित्रै गर्दैछौं ।’ पुर्वपश्चिम राजमार्गको दुवै तर्फ २५ मिटरको क्षेत्रका संरचना हटाउन नगरपालिकाले सार्वजनिक सूचना गरिसकेकाले अब सडक छेउमा राखिने बसहरु बसपार्क भित्र जाने अध्यक्ष घिमिरेले बताउनु भयो ।
जीर्ण बन्दै गएको बसपार्कको शौचालय ।बसपार्क व्यवस्थापन समितिले हिजो एक बिज्ञप्ती निकालेर सडक छेउका संरचना हटाउँदा बिस्थापित हुन नदिने र त्यस्ता व्यवशायीलाई प्यारीभिट्टा बसपार्क क्षेत्रमा व्यवस्थापन गरिने बताएको छ । सरकारको ८ करोडभन्दा बढी लगानी भइसकेको प्यारीभिट्टा बसपार्क २०७४ मा उदघाटन गरिएको थियो । करीब एक बर्ष सञ्चालनमा आएको बसपार्क त्यस पछि पूर्ण रुपमा बन्द भयो । ६ बिगाहा क्षेत्रफलमा फैलिएको बसपार्क २०८० असोज ३० गते पुन सञ्चालनका लागि भन्दै नगरपालिकाले शुभारम्भ नाम दिएर दोस्रो पटक उदघाटन गरेको थियो । त्यस पछि पनि बसपार्क सञ्चालनमा आउन सकेको छैन ।