झापा, कार्तिक २७ । झापाको मेचीनगर नगरपालिकाले तिहारमा खेलिने देउसी भैलोलाई दिने दक्षीणाको अधिकतम सिमा तोकेको बिषयको सर्बत्र आलोचना भएको छ । सामाजिक सञ्चाल प्रयोगकर्ताहरुले मेचीनगरले देउसी भैलो जस्तो साँस्कृतिक परम्परामाथी अंकुश लगाउन खोजेको आरोप लगाईरहेका छन । मेचीनगर ६ स्थीत अरुणोदय अँग्रेजी माविका प्रिन्सिपल दुर्गाबहादुर लुईटेल फेसबुकमा लेख्नुहुन्छ, ‘हाम्रो नगरमा दक्षिणामा पनि हद तोकिएछ, एकसय एकाउन्न रुपैयाँ भन्दाबढी दिन नपाइने अरे, देउसी–भैलोको मर्म बुझ्न सकेनन नवसुधारबादीहरुले । जबरजस्ती यति देऊ भन्न पो पाइदैन त, आफ्नो गच्छे अनुसार दानदक्षिणा दिन नपाइने पनि हुन्छ ? यो कस्तो गणतन्त्र ?’
त्यस्तै देवकोटा पार्क व्यवस्थापन समिति काकरभिट्टाका अध्यक्ष गणेशकुमार खरेलले पनि नगरपालिकाको निर्णय गलत भएको टिप्पणी गर्नु भएको छ । खरेल आफ्नो फेसबुकमा लेख्नुहुन्छ, ‘दान, दक्षिणा मानिसको आफ्नो दक्ष अनुरुप हुन्छ त्यस लाई नियमन गर्ने अधिकार कुनै पनि सरकार लाई हुन्न । देउसी भैलो भनेको हिन्दुहरुको सस्कृतिक परम्परा हो, यो हरेक दिन खेलिने खेल होइन । सस्कृतिक परम्परा अनुसार मनाउने चाड पर्वहरु प्रती कुनै पनि सरकारले बन्देज गर्नु कदाचित बान्छनिय हुदैन ।’
मेचीनगर ६ निवासी नाट्यकर्मी कविता नेपालले पनि दक्षीणा तोक्नु नहुने तर्फ संकेत गर्दै फेसबुकमा लेख्नु भएको छ, ‘सभ्य तरिकाले देउसी खेल्न पाउनु र दान दक्षीणा दिनु दुवैको स्वतन्त्रता हो । यसमा कसैले नियम बनाएर बाँधिदैंन ।’
त्यस्तै प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले पनि दक्षीणाको सिमा तोक्नुलाई आलोचना गर्नु भएको छ । रुचाल आफ्नो फेसबुकमा लेख्नुहुन्छ, ‘नेपाली समाजमा सुरक्षा मजबुत भए अनि समान्य मानिसहरुलाई प्रतिस्पर्धात्मक प्रेसर नगर्ने हो भने मौलिक पर्वहरु बिना नियन्त्रण नै मान्नु उपयुक्त हुन्छ ।’
यी बाहेक पनि धेरै जसो मेचीनगरबासीहरुले सामाजिक सञ्चाल मार्फत देउसी भैलो खेल्न पाउने समय र दक्षीणा तोकिएको बिषयमा नगरपालिको बिरोध गरेका छन । मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कार्तिक २४ गते एक सूचना जारी गर्दै देउसी भैलो राति १० बजेसम्म मात्रै खेल्न र दक्षीणाका रुपमा अधिकतम १५१ रुपैयाँ मात्रै दिन नगरबासीहरुलाई आव्हान गर्नु भएको थियो ।