झापा,असोज १४। पेट्रोलियम पर्दाथ तथा खाना पकाउने एलपी ग्यासको मूल्य बृद्धि भएको छ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । बढेको मुल्य गएराती १२ बजेबाट लागुभएको छ । इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै निगमले पनि बढाएको हो ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २१ सय १० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग अन्र्तगत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा प्रतिलिटिर १ सय ८२ रुपैयाँ ५० पैसा, दोस्रो बर्ग अन्र्तगत सुर्खेत र दाङ मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा भने १ सय ८५ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १ सय ७६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ७८ र तेस्रो वर्गमा १ सय ७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।
नेपालीहरूको महान् चाड दसैँको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सरकारको चर्को आलोचना भएको छ । प्रभावकारी बजार अनुगमन नभएर कालोबजारी बढ्दा मारमा परेका सर्वसाधारणलाई थप भार पर्ने गरी फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै सरकारको आलोचना भएको हो ।
निगमले स्वचालित मूल्य प्रणालीको नाममा एक पछि अर्को गर्दै मूल्यवृद्धिको निर्णय गर्दै आएको छ । सरकारले महँगीको मारमा परेका जनतालाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउनुपर्नेमा त्यस विपरीत झन् मूल्यवृद्धिलाई नै प्रशय दिने काम गरेको भन्दै सर्वसाधारण आक्रोशीत भएका छन ।
