झापा,असोज १२ । मेचीनगरको चारआलीमा रहेको पाउँ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार प्रयोजन प्रवर्द्धन समितिले आफनो १० औं बार्षिकोत्सव मनाएको छ । विभिन्न बालगृह तथा असहायहरुलाई सहयोग गरेर बार्षिकोत्सव मनाइएको हो ।
धार्मिक प्रतिष्ठानको रुपमा रहेको पाउँपाथीभरा मन्दिरबाट संकलित रकमहरुबाट बार्षिकोत्सवको अवसर पारेर सहयोग गरिएको सस्थापक हरिचरण बानियाले जानकारी दिनुभयो ।
समितिले बार्षिकोत्सवका अवसरमा कनकाई नगरपालिकाका १९ जना असहाय बृद्वहरुलाई खाद्यान्न, बिर्तामोड बृद्वाआश्रमलाई नगद १० हजार, बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृह अर्जुनधारालाई छ थान ब्ल्याकेट र सुबोध साधाना केन्द्र बालगृह धुलाबारीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सुबोध साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया, बन्दी सहायता नेपाल झापा शाखाका अध्यक्ष जगतबहादुर मगर लगायतले सस्थालाई धन्यवादसहित १० औं बार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष तीलकप्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष यामनाथ बराल, पुष्पराज कार्की, सह–सचिव अर्जुन थेबे, पुष्प वखिम, बिदुरप्रसाद शिवाकोटी, प्रेमसागर घिमिरे, तेजकुमारी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।