झापा,भदौ २१ । श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट निकालिने श्रीकृष्ण रथयात्राको झापा भरि उत्साह देखिएको छ । जिल्लाका बिभिन्न स्थानमा हर्सोउल्लासका साथ श्रीकृष्ण रथयात्रा निकालिएको छ । केही स्थानमा आजै रथ यात्रा निकाल्ने तयारी छ ।
। झापाको भद्रपुरमा विहान ११ बजे, बिर्तामोडमा १२:३० बजे, गौरादहमा १२ बजे तथा र शरणामतिमा विहान १० बजे रथयात्रा निकालिएको छ । जिल्लाकै सबैभन्दा पुरानो रथयात्रा भद्रपुरमा २० औँ पटक निकालिएको छ भने विर्तामोडमा पहिलो पटक आयोजना गरिएको हो ।
रथलाई बिभिन्न फुल तथा सजावटका सामाग्रिले सजाएर झकिझकाउ पारिएको छ । त्यसतै रथयात्रामा विभिन्न झाँकी, लाखे नाच प्रदर्शन गर्नुका साथै बालबालिकाहरूलाई विभिन्न देवीदेवताका भेषभुषामा सजाइको छ ।
आजै दमक र गौरीगञ्जमा पनि श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकालिदै छ । दमकमा सातौँ श्रीकृष्ण रथयात्रा दिउँसो २ बजे सुरु हुने मूल आयोजक समितिका संयोजक रोहित आचार्यले जानकारी दिनुभयो । त्यसतै गौरीगञ्ज गाउँपालिकामा पनि तेस्रो पटक निकालिने रथयात्राको समय दिउँसो २ ३० मा तय गरिएको आयोजक समितिले जनाएको छ ।
सजक रहन प्रहरीको अनुरोध :
श्रीकृष्ण रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय झापाले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सूचना जारी गरी आज झापाका बिभिन्न स्थानहरुमा हुन सक्ने राधाकृष्ण रथ यात्रामा ठुलो संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने र उक्त स्थानहहरुमा भिडभाडको फाईदा उठाउदै अपराधिक गतिबिधिहरु घट्न सक्ने भएकोले सजकता अपनाउन आग्रह गरेको हो ।
जिल्ला प्रहरी झापाद्धारा जारी सूचनामा भनिएको छ बहुमुल्य गरगहनाहरु लगाई उक्त भिडभाडमा नजान, उक्त स्थानमा जाँदा अधिक नगद तथा बहुमुल्य सामाग्रीहरु नलगाउन, सवारी साधनहरु चलाउदा पार्किङ स्थल भन्दा बाटोको साइडमा नराखिदिन, सवारी साधनहरु पार्किङ गरी राख्दा ह्याण्डिल लग, ह्विल लग लगायतका सुुरक्षाका अतिरिक्त बिधिहरु अपनाउन, भिडभाडको फाइदा लिएर महिला दिदिबहिनीहरुमा हुने दुर्व्यवहारप्रति सजग हुन प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै शंकास्पद ब्यक्ति हुन सक्ने भएकोले हरहमेसा चनाखो रहन, कुनैपनि प्रकारको चोरी, लुटपाट, दुर्ब्यवहार लगायत अन्य अपराधिक गतिबिधिहरु भएमा वा कसैको गतिविधिहरु शंकास्पद लागेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय झापा हटलाइन नम्बर १०० तथा मोबाइल नम्बरहरु ९८५२६७१५५५ र ९८५२६९००४९ मा सम्पर्क गरी जानकारी गराउन जिल्ला प्रहरी कार्यालय झापाले अनुरोध गरेको छ ।