झापा,असार २५ । महिला जनचेतना केन्द्र मेचीनगरले एक बर्षको अवधीमा गरेको कामको प्रभावकारीता सम्बन्धी अनुगमन तथा मुल्याङ्कन कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको कचनकवल र बाह्रदशी गाउँपालिकामा बालविवाह तथा कम उमेरमा हुने विवाह न्युनिकरण कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले अभियानको प्रभावकारीता तथा उपलव्धीहरुको बारेमा जनप्रतिनिधी तथा लक्षित किशोरीहरु संग छलफल गरेको हो ।
संस्थाका पदाधीकारी,बिषय विज्ञ तथा पत्रकार सम्मेलित टोलीले कचनकवल र बाह्रदशी गाउँपालिकाको कार्यक्रम सञ्चालित स्थानहरुमा गएर त्यसको प्रभावकारीता सम्बन्धी अनुगमन तथा मुल्याङ्कन गरेको हो ।
संस्थाले कचनकवलको फुलवारीमा फुलवारी किशोरी समुह र बाह्रदशीमा पाथिभरा किशोरी समुह गठन गरि विभिन्न जनचेतना मुलक कार्यक्रमका साथै सिलाइकटाइ सम्बन्धि तालिम प्रदान गरेको थियो । आय आर्जनको श्रोत नहुदाँ किशोरीहरुलाई कम उमेरमा नै विवाह गरिदिने समस्या देखिएका कारण उनिहरुलाई सिलाई कटाइ सम्बन्धि तालिम दिएर आत्मनिर्भर बनाइएको संस्थाकि अध्यक्ष सिता गुरुङले जानकारी दिनुभयो ।
किशोरी समुहले गाँउमा हुने बालविवाहका घटना रोकथाम गर्ने,त्यसका बारेमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधी गर्ने गरेका छन । संस्थाका प्रबन्ध निर्देशक राधा प्रधानका अनुसार कचनकवलमा ६ महिना र बाह्रदशीमा ३ महिने तालिम सञ्चालन गरिएको थियो ।
कचनकवलमा गठित किशोरी समुहले व्यवसायिक रुपमा काम थालिसकेका छन । १६ जना मुसलिम किशोरी रहेको समुहले एउटा घर भाडामा लिएर ९ वटा सिलाई मेसिन राखेर काम गरिरहेका छन । उनीहरुलाई ५ वटा मिसिन संस्थाले र ४ वटा मेसिन गाँउपालिकाले उपलव्ध गराएको हो ।
अनुगमनका क्रममा टोलीले कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी तथा बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष शान्ता देवी शिवाकोटीसंग पनि छलफल गरेको थियो । त्यसक्रममा उहाँहरुले संस्थाले गरेको बिभिन्न कार्यक्रमका कारण पालिकामा वालविवाह न्युनिकरण प्रभावकारी बन्दै गएका बताउनुभएको थियो ।