झापा, असार १२ । झापामा पहिलो पटक स्वास्थ्य संगै पर्यटन कार्यक्रम ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ आयोजना हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना र नेपाल एसोशियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स संघ (नाटा) कोशी प्रदेश र होटल व्यवसायी संघ झापाको सह–आयोजना र बिर्तामोड नगरपालिका संगको सहकार्यकमा कार्यक्रम हुने भएको हो ।
आगामी असार १६ गते शनिबार बिर्तामोड स्थित आदर्श व्याङकेटमा आयोजना हुने एक दिवशिय कार्यक्रमका लागि झापाका स्वास्थ्य, होटल र पर्यटन संग सम्बन्धित ३३ वटा स्टलहरु बुकिङ भईसकेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रमका लागि हाल सम्म १२ वटा अस्पताल, ८ वटा होटल, ६ वटा आखा अस्पताल तथा क्लिनिक, ५ वटा दन्त क्लिनिक, १ वटा पर्यटन सम्बन्धी मात्र पढाई हुने क्याम्पस, १ वटा स्वास्थ्य सम्बिन्धीको क्याम्पस गरि ३३ वटा स्टल बुकिङ भईसकेकोे नाटाका कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनुभयो ।
‘जम्मा ५० वटा स्टलहरु रहने छन् । स्टल निशुल्क बुकिङ गर्न सकिने छ । कार्यक्रममा आउने अवलोककर्तालाई स्वास्थ्य सुविधा अन्तरगत विशेषज्ञबाट प्रेस, सुगर, आखाको निशुल्क परिक्षण शिविर सञ्चालन हुने र चस्मा पनि उपलब्ध गराइने छ ।’ उहाँले भन्नुभयो ।
स्वास्थ्य सेवा प्रदायक, बिरामी र पर्यटन उद्योगलगायत विभिन्न सरोकारवालहरुलाई एकै छानामुनीबाट जानकारी प्रदान गर्ने उदेश्यले आयोजना हुने हेल्थ टुरिजम प्रोमोसन प्रोग्रामबाट नेटवर्किङ अवसर, चिकित्सा सेवाहरुको प्रर्दशनको अबसर, बिरामी शिक्षा र सचेतना, व्यापार विकास र साझेदारी, नेपाललाई टुरिजम गन्तव्यको रुपमा प्रवद्र्धन, आर्थिक प्रभाव, देशको चिकित्सक सेवाहरु प्रर्दशन गर्न सहयोग बढाउने, चेतना जगाउने र भारतीय बिरामीहरुलाई आकर्षित गर्ने मञ्चको रुपमा काम गर्न सकिने, त्यसैगरी नेपालको सवास्थ्य सेवा उद्योगलाई प्रवद्र्धन गर्न र यसको आर्थिक वृद्धिमा योगदान पुर्याउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नेपाल टुरिजम बोर्डका प्रवन्धक सुर्य थपलियाले बताउनुभयो ।
कार्यक्रममा जिल्लाका उत्कृष्ट हस्पिटलहरु, कोशी प्रदेशका ट्राभल्स, होटेल, होमस्टे र पर्यटन व्यवसायीहरुको स्टल रहने र सो दिन भारतको पस्चिम वंगाल र बिहारका पर्यटन व्यवसायी, पत्रकार गरि ४० भन्दा धेरैको सहभागिता रहने नाटाका महासचिव नविन खरेलले जानकारी दिनुभयो ।
होटल व्यवसायी संघको कार्यलयमा भएको पत्रकार भेटघाटमा पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकृत निरज कट्टेल, होटल व्यवसायी संघका महासचिव शिवराज पौडेल, साइकिलिङ पर्यटन अभियन्ता आकाश श्रेष्ठ लगायतले कार्यक्रमको औचित्यमाथि धारणा राख्नुभएको थियो ।