झापा, जेठ ३२ । झापाको मेचीनगर नगरपालिकाले नगरभित्र क्षयरोगी खोजी अभियान शुरु गरेको छ । क्षयरोग मुक्त नगरपालिका बनाउने उद्देश्य लिएर यतिबेला नगरका स्वास्थ्यकर्मीहरु गाउँ गाउँ पुगेर क्षयरोगी खोजी गरिरहेका छन ।
‘अहिले हामी दैनिक जसो क्षयरोगीको खोजीमा लागेका छौं,’ नगरका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले सेतोपत्रसंग भन्नुभयो, ‘गाउँ गाउँमा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरेर क्षयरोग मुक्त अभियान सञ्चालन गरिरहेका छौं ।’ शाखा प्रमुख सापकोटाका अनुसार चाल आर्थिक बर्षको बैशाख मसान्तसम्म मेचीनगरमा १६३ जना क्षयरोगी भेटिएको छ ।
६ हजार भन्दा धेरै व्यक्तिको स्क्रीनिङ गर्दा र एक हजार व्यक्तिको परिक्षणबाट १६३ जनामा क्षयरोगको जीवाणु पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनु भयो । जसमध्ये ११० जना फोक्सोमा लागेको क्षयरोगी छन भने ५३ जनाको क्षयरोग फोक्सोभन्दा बाहिर रहेको परिक्षणबाट पत्ता लागेको छ । फोक्सोमा भएको क्षयरोग अर्को व्यक्तिलाई छिटो सर्ने प्रकृतिको हुन्छ भने यसबाट मृत्यु हुनेको संख्या समेत धेरै भएको सापकोटाले बताउनु भयो ।
मेचीनगरमा सबैभन्दा धेरै क्षयरोगी वडा नं. ६ मा भेटिएको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ । ‘अभियान अन्तर्गत जोखिमयुक्त समूदाय र जोखिमयुक्त समूहमा सक्रिय रुपमा क्षयरोगी खोजी गरिरहेका छौं,’ सापकोटाले भन्नुभयो, ‘भेटिएका रोगीहरुलाई तत्काल उपचार गराउने समेत गरिरहेका छौं ।’ वहाँका अनुसार क्षयरोगको सम्पूर्ण उपचार खर्च निशुल्क रहेको छ ।
क्षयरोग लागेका बिरामीको अवस्था हेरेर मेचीनगरले ‘फुड बासकेट’का रुपमा प्रति व्यक्ति दुई हजार ६ सय ५५ रुपैयाँको पौष्टिक खाद्यन्न समेत उपलब्ध गराई रहेको छ । जसमा एक जना बराबर २० किलो चामल, एक क्यारेट अण्डा, एक किलो बदाम, एक किलो मुसुरोको दाल, एक किलो मिश्रीत गेढागुढीको सातु र एक लिटर खानेतेल उपलब्ध गराउने गरेको स्वास्थ्य शाखा प्रमुख सापकोटाले सेतोपत्रलाई जानकारी दिनु भयो । वहाँका अनुसार चालु आर्थिक बर्षमा एक सय १८ जना क्षयरोगीलाई फुड बास्केट दिने योजना रहेको छ ।
मेचीनगरमा एक बर्षमा क्षयरोगबाट मात्रै ५ जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । चालु आर्थिक बर्षमा क्षयरोग मुक्त अभियानका लागि केन्द्र सरकारले मेचीनगरलाई ३४ लाख उपलब्ध गराएको छ ।