बिर्तामोड,वैशाख २० । झापाको बिर्तामोड नगरपालिकाले पशुहरुमा लाग्ने खोरेत तथा चरचरे लगायतको रोग बिरुद्धको खोप अभियान सुरु गरेको छ ।
गर्मी र बर्षाको मौसममा गाइबस्तुमा प्रकोपको रुपमा देखा पर्ने खोरेत र चरचरे लगायतका रोगको रोकथामका लागि खोप अभियान थालिएको हो । पशु प्राविधिकहरुले घरघरमा पुगेर निशुल्क रुपमा गाइबस्तुलाई खोप लगाइरहेका छन ।
नगरपालिकाको वडा नम्बर ८ बाट सुरु गरिएको खोप अभियान अन्र्तगत अहिले ५ हजार खोप बितरण गरिने खोप अभियानमा खटिएका पशुप्राविधिक अवसर बुडाथोकीले जानकारी दिनुभयो ।
नगरपालिकाले भद्रपुर पशु सेवा बिज्ञ केन्द्रबाट प्राप्त खोप अभियानमा ३ जना पशुप्राविधिक खटाएको छ ।
खोरेत रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्ने र बेलैमा ध्यान पुगाउन न सकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्ने पशु प्राविधिक बुडाथोकीले बताउनुभयो ।
त्यस्तै चरचरे रोग लागेपछि चौपायलाई ज्वरो आउने, घाँटीको अगाडि र खुट्टाको पछाडिको भागमा रहेको मांसपेशी अस्वाभाविकरुपमा सुन्निने, घाउ भएको ठाउँमा छुँदा चरचर आवाज आउने, पेट फुल्ने, खुट्टा नचल्नेजस्ता लक्षणहरु देखापर्ने उहाँको भनाई छ ।
यि रोग बिरुद्धका खोपले गाइबस्तुलाई कुनै नकरात्मक असर नपर्ने हुदाँ खोप लगाउन आउने प्राविधिकहरुलाई सहयोग गरिदिन पनि नगरपालिकाले नगरवासीहरुलाई अनुरोध गरेको छ ।