झापा, वैशाख १९ । झापाको काकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुद्देशीय सहकारी संस्था (एनएमसी) को मुख्य नारा छ, ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ । असल संस्कारलाई मुख्य लक्ष्य बनाएको नेपालकै अग्रणी सहकारी संस्थाका रुपमा रहेको एनएमसीले आफ्ना सहकारी पसलहरुमा भने रक्सी बिक्रि गरिरहेको छ । सामान्यतया हाम्रो असल संस्कार भन्ने बित्तिकै रक्सी पर्दैन तर पनि आफ्नै मुख्य नारा बिरुद्ध एनएमसीले बिगत दुई बर्षदेखि सहकारी पसलहरुमा रक्सी बिक्रि गरिरहेको छ ।
झापामा १४ र इलाममा एउटा गरी १५ वटा सहकारी पसल (मार्ट) रहेको एनएमसीको सबै पसलमा रक्सी बिक्रि वितरण हुने गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले स्वीकार गर्नु भयो । खुला बिक्रि नगर्ने तर मदिराका विभिन्न ब्राण्डका उत्पादन शिलबन्दी मात्रै बिक्रि गर्ने उप्रेतीले बताउनु भयो । अध्यक्ष उप्रेतीका अनुसार एनएमसी सहकारी पसलमा मदिरा (रक्सी) सहित प्याकेजिङ खाद्यान्न, मर्केटायलका सामग्री, कस्मेटिकका सामग्री, गार्भेन्टका सामग्री र एनएमसी डेरी उद्योगका उत्पादनहरु विक्रि हुने गरेको छ ।
सहकारी पसल शुरु भएको दुई बर्षसम्म मदिरा बिक्रि नगरेको तर हाम्रो समाजको कतिपय समुदायमा संस्कारमा मदिरा पनि पर्ने भएकाले एनएमसीले मदिरा पनि बिक्रि गर्न थालेको अध्यक्ष उप्रेतीले बताउनु भयो । ‘हामीले २०७६ वैशाखमा एनएमसीको नयाँ व्यवशायका रुपमा सहकारी पसल शुरु गरेका हौं,’ अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘शुरुका दुई बर्ष हामीले रक्सी बिक्रि गरेनौं तर कतिपय समुदायमा जन्मदेखि मृत्युसम्म रक्सी चाहिने भएकाले हाम्रा सदस्यहरुको मागका आधारमा सहकारी पसलमा रक्सी बिक्रि गर्न थाल्यौं ।’

‘कसैको संस्कारमा नै चाहिने कुरालाई हामीले नखानु भन्नु त भएन नि,’ अध्यक्ष उप्रेतीले सेतोपत्रसंग भन्नुभयो, ‘सिमा भित्र रहेर सेवन गर्दा बेफाईदा नहुने भएर नै मदिरालाई विश्वभरि मान्यता दिइएको छ ।’ एनएमसी सहकारी पसलसंग रक्सीसंगै चुरोट बिक्रिको पनि अनुमति छ तर चुरोट बिक्रि नगर्ने अध्यक्ष उप्रेतीले बताउनु भयो । ‘रक्सीको अनुमति लिंदा चुरोटको पनिसंगै अनुमति आउँदो रैछ,’ अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘चुरोट कसैको संस्कारमा पनि चाहिदैंन र त्यसले स्वास्थ्यलाई पनि हानी गर्ने भएकाले एनएमसी सहकारी पसलमा चुरोट बिक्रि गर्दैनौं ।’
सरकारलाई बुझाउनु पर्ने करका हिसाबले रक्सी महंङ्गो पर्ने भए पनि संस्थाका सदस्यहरुको समुदायगत संस्कारका लागि पनि रक्सी बिक्रि गर्नु परेको उप्रेतीले बताउनु भयो । अध्यक्ष उप्रेतीका अनुसार एनएमसी सहकारी पसलका सबै शाखाहरुबाट सरदर दैनिक दश लाख रुपैयाको बिक्रि हुने गरेको छ । वैशाखको अन्तिम साता एनएमसी सहकारी पसलको १६ औं शाखाका रुपमा झापाको शिवगञ्जमा नयाँ पसल शुभारम्भको तयारी भइरहेको अध्यक्ष उप्रेतीले बताउनु भयो ।
