मेचीनगर, चैत १३ । मकै छर्ने बेला भएकाले मेचीनगर २ का देवेन्द्र ढकाल राम्ररी उम्रिने बिउको खोजीमा हुनुहुन्थ्यो । त्यसैबेला नगरपालिकाले बिउ ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने भनेर सुचना प्रकाशित गरेको उहाँलाई थाहा भयो ।
गाउँघरमा लोकल मकैको बिउ प्रतिकेजी एक सय देखि एक सय ३० रुपैँयासम्म पर्छ । नगरपालिकाले अनुदानमै बिउ वितरण गर्ने भनेर थाहा पाएपछि उहाँ पनि खुशी हुनुभयो । ‘नगरपालिकाले दिने बिउ हो, राम्ररी उम्रिन्छ होला भनेर त्यहि बिउ छर्ने योजना बनाएँ ।’ सेतोपत्रसगँ कुराकानी गर्दै उहाँले भन्नुभयो ‘खेत बाँझो थियो त्यसैले ट्याक्टर लगाएर दुई पल्ट जोताएँ ।’
त्यसपछि गोरुले जोताएर १० कट्ठा जग्गामा सात केजी मकैको बिउ रोप्नुभयो उहाँले । तर मकै भने उम्रिएन । ‘पाँच प्रतिशत पनि उम्रिएन खेत जोताउँदा जस्तो थियो लगभग त्यस्तै छ ।’ उहाँले भन्नुभयो । ‘२२ सय रुपैँया घण्टा पर्छ ट्याक्टर जोताएको, हलगोरुको एक हजार छ, आफ्नो श्रमको त हिसाब नै छैन जम्मै गरेर लगभग १५ हजार जति खर्च भयो मेरो ।’ उहाँ भन्नुहुन्छ ‘खेत जस्ताको तस्तै छ, अब यसको क्षतिपुर्ती कसले दिने ? यो त अनुदानका नाममा गम्भिर लापारवाही भएन र ?’
उहाँको मात्रै होइन मेचीनगर २ कै युवराज नेपालको पनि अवस्था उस्तै छ । नेपालले एक विगाह जग्गामा २० केजी बिउ रोप्नुभएको थियो । तर करिब आधा बिउ नै उम्रिएको छैन । ‘मैले भने अलि फरक बिउ पाएको थिएँ निर्मलिकरण गरिएको भनेर रङ लगाएको बिउ ल्याएको थिएँ ।’ नेपालले भन्नुभयो ‘तर निर्मलिकरण गरेको भनिएको बिउ पनि उम्रिएन, मेरो करिब २५ हजार रकम खर्च भएको छ, अहिले खेत त्यसै छोड्नु कि फेरी बिउ छर्नु जस्तो भएको छ ।’
उहाँका अनुसार मेचीनगर नगरपालिकाले प्रतिकेजी ५२ रुपैँया ६० पैसामा किसानलाई बिउ दिएको हो । तर नगरले तोकेकै रकम तिरेर लगेका किसानले रोपेको बिउ भने उम्रिएन । मेचीनगर २ कै खगेन्द्र दाहालले पनि २० केजी बिउ रोप्नुभएको छ । तर उम्रिएको छैन । अनुदानका नाममा नगरपालिकाले किसान समक्ष गम्भिर लापारवाही गरेको भन्दै किसानहरुले गुनासो गरेका छन् ।
अहिले खेत त्यसै छाड्नु कि फेरी नयाँ बिउ रोप्नु किसान अन्योलमा छन् ।
एक लट आएको बिउ खराब परेछ : नगर कृषि शाखा
यता यस विषयमा नगरपालिकाको कृषि शाखाले भने एक लट आएको बिउ खराब परेको भनेर स्वीकारेको छ ।
‘११ टन बिउ आएकोमा दुई टन जति खराब परेछ, त्यो पनि हामीले रिप्लेस गरिरहेका छौँ ।’ कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले भन्नुभयो ‘प्राविधिक त्रुटीका कारण गल्ती भयो, किसानलाई त्यहि ठाउँ पुन अर्को बिउ लगेर रोप्न अनुरोध गर्दछु ।’
उहाँका अनुसार फेरी नयाँ बिउका लागि पैसा भने तिर्नुपर्ने छैन । ‘रिप्लेस गरिएको हो फेरी पैसा तिर्नुपर्दैन ।’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी ११ लाख २१ हजारमा ११ टन बिउ खरिद गरिएको हो ।