मेचीनगर, चैत ७ । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले आफुहरुको कुरै सुन्न नचाहेको झापाका कुखुरा व्यवशायीहरुले गुनासो गरेका छन । जिल्ला कुखुरा व्यवशायी संघले हिजो नगरप्रमुख बुढाथोकीलाई भेट गरी आफ्ना व्यवशयाीक समस्या र समाधानका बिषयमा छलफल गर्न समय मागेको थियो ।
नगरपालिका कार्यालयमा नै बिहान भेट गर्न आएका कुखुरा व्यवशायीहरुसंग नगरप्रमुख बुढाथोकी असोभनिय ढंगबाट प्रस्तुत हुनु भएको जिल्ला कुखुरा व्यवशायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताउनु भयो । ‘हामी नगरप्रमुखलाई भेटेर हाम्रा कुरा राख्न आएका थियौं,’ सेतोपत्रसंग निरौलाले भन्नुभयो, ‘नगरप्रमुखको प्रस्तुती देखेर हामी त छक्क पर्यौं, वहाँले हाम्रो कुरै सुन्न चाहनु भएन ।’
‘मलाई त नगरप्रमुखको कुरा पिटिक्कै चित्त बुझेन,’ जिल्ला कुखुरा व्यवशायी संघका अध्यक्ष निरौलाले भन्नुभयो, ‘वहाँ त हामीलाई बोल्नै नदिई एकोहोरो नकरात्मक कुरा मात्रै गर्न थाल्नु भयो, सम्बन्धीत बिषयको जिम्मेवारीमा रहेका कर्मचारीलाई बोलाएर बुझ्नेसम्मको सामान्य कुरा पनि नगरप्रमुखले गर्नु भएन र हामीले भन्दा पनि हाम्रो कुरा तिर कुनै ध्यान दिनु भएन ।’
‘नगरप्रमुखले स्थानीय सरकारको संयन्त्र चलाउन सक्नु पर्छ कि पर्दैन ?’ निरौलाले प्रश्न गर्नु भयो, ‘आफ्नै समस्या मात्रै देखाएर हिजो जनतासंग गरेको प्रतिबद्धता कसरी पुरा हुन्छ ?’ नगरप्रमुख बुढाथोकीमा जनताको कुरा सु्न्ने भन्दा पनि आफ्नै समस्या मात्रै देखाउने र नकरात्मक टिप्पणी बढी गर्ने प्रबृत्ति बढेको निरौलाले बताउनु भयो ।
जुन सोचेर छलफल गर्न गएको त्यो नभए पनि नगरप्रमुखलाई कुखुरा व्यवशायीको तर्फबाट ध्यानाकर्षण पत्र भने बुझाएर फर्किएको अध्यक्ष निरौलाले बताउनु भयो ।
खुला सिमानाका कारण भारतबाट प्रतिबन्धीत कुखुरा र कुखुराको मासु, अण्डा लगायतका सामग्री अबैद्य रुपमा नेपाल भित्रिरहेको र त्यसले नेपाली कुखुरा पालक किसान र व्यवशायीहरुलाई समस्या भएको बिषयमा छलफल गर्न व्यवशायीहरुको प्रतिनिधि मण्डल नगरप्रमुख बुढाथोकीलाई भेट गर्न नगरपालिका कार्यालय पुगेको थियो ।
यस अघि पनि जिल्लाका कुखुरा व्यवशायीहरुले झापाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी झापाका प्रमुख र शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय झापाका प्रमुखलाई समेत भेट गरी छलफल गरेका थिए ।