झापा, चैत्र ४ । झापामा लागुऔषध दुव्र्यवसनीको संजाल व्यापक बनिरहेको पाइएको छ । लागुऔषधको सन्दर्भमा झापा जिल्ला अत्यन्तै विकराल अवस्थामा गुज्रिरहेको पछिल्लो समयमा विकसित अवस्थाहरुले नै प्रस्ट्याइरहेका छन् ।
जिल्लामा दैनिक जसो नै लागुऔषधसहित युवायुवतीहरु प्रहरी नियन्त्रणमा पर्ने क्रम बढिरहेको छ । यस आर्थिक बर्षको ७ महिनाको अवधिमा मात्रै १ सय ६५ जना नागरिकलाई लागुऔषध सहित झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको जानकारी अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा मात्रै १४ महिला र १ सय ५१ पुरुषलाई लागुऔषध सहित पक्राउ गरिएको छ ।
जसमा ९ जना पुरुष र १ जना महिला भारितय हुन् । पक्राउ परेका मध्ये १ सय १ जनामाथि मुद्दा चलाइएको र सबै मुद्दाको फचर््यौट भइसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
काँकरभिट्टा नाकाबाट उच्च जोखिम
भारतसगँ खुला सिमा भएका कारण पनि पूर्वी जिल्ला झापा लागुऔषधको दलदलमा फसिरहेको प्रहरी बताउँछ । ‘खुला सिमा छ, भारतबाट लागुऔषध भित्र्याउन कारोबारी अनेक उपाय लगाउँछन् ।’ झापा प्रहरीका प्रवक्ता खगेन्द्रपसाद रिजाल भन्नुहुन्छ ‘जसका कारण प्रहरीले अनेक कडाइ गरेपनि लागुऔषध पुर्ण नियन्त्रणमा प्रहरी सफल हुन सकिरहेको छैन ।’
लागुऔषध नियन्त्रणमा अनेक कडाइ गरेपनि सफल भने हुन नसकिरहेको स्वीकार्नुहुन्छ प्रवक्ता रिजाल । ‘हामीले हरेक जोखिम क्षेत्रको मुल्यांकन गरी प्रहरी तैनाथ पनि गरेका छौँ तरपनि संजाल भने बढिरहेको छ ।’ उहाँ भन्नुहुन्छ ।
जिल्लाका विभिन्न नाका मध्ये काँकरभिट्टा नाकामा सबैभन्दा उच्च जोखिम रहेको उहाँ बताउनुहुन्छ । त्यसपछि भने भद्रपुर नाका अनि अन्य नाकामा कारोवारीहरु सक्रिय रहेको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रणमा कहाँ चुकिरहेको छ प्रहरी ?
लागुऔषध नियन्त्रण गर्न प्रहरी सधैँ सक्रिय रहेको बताउँदै प्रवक्ता रिजाल भन्नुहुन्छ ‘हामीले जोखिम क्षेत्रमा कडाइ त गरेका छौँ नै पक्राउ परेका कसैलाई परामर्श दिएर पनि लागुऔषधबाट छुटाउने प्रयास गरिरहेका छौँ ।’
‘कोहि साथी भाइको लहैलहैमा लागेर भरखर सिक्दै गरेका हुन्छन् कोहि नचाहँदा नचाहँदै पनि कुलतमा फसिरहेका हुन्छन्, उनिहरुलाई मनो परामर्श दिएर छुटाउने काम पनि प्रहरीले गरिरहेको छ ।’ उहाँ भन्नुहुन्छ ‘प्रहरीले पक्राउ गरेको पनि कुलतबाट छुटाउन नै भएकाले केन्द्रको निति अनुसार नै परामर्श दिने काम हामीले गरेका छौँ ।’
यसबाहेक लागुऔषध प्रयोगकर्ताको साथी जस्तै बनेर यसको संजाल बारे जानकारी लिने, नाका गौँडाको पहिचान गरी त्यस स्थानमा सुरक्षा बढाउन यी विभिन्न उपाय पनि प्रहरीले अपनाइरहेको उहाँको भनाई छ ।
७ महिनाको अवधिमा मात्रै १ सय ६५ जना मानिससहित करिब ८ सय ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।