काकरभिट्टा, चैत २ । काकरभिट्टास्थीत मेची सामुदायिक सेवा केन्द्रको चैत ७ गते हुने निर्वाचनका लागि अध्यक्षमा तीन जनाले दाबी प्रस्तुत गरेका छन ।
अध्यक्ष पदका लागि बिना तामाङ, खेमप्रसाद अर्याल र मुक्तिनाथ पौडेलले बुधबार उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले जानकारी दिनु भयो ।
घिमिरेका अनुसार अध्यक्ष र सचिव पदमा चुनाव हुनेछ । सचिव पदमा घनश्याम लामिछाने र अर्जुन राईले मनोनयन दर्ता गराएको वहाँले बताउनु भयो ।
अन्य पदहरुमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेको घिमिरेले बताउनु भयो ।
केन्द्रको उपाध्यक्षमा बालकृष्ण थापा, महासचिवमा खडानन्द भण्डारी, कोषाध्यक्षमा रोमा थापा मगर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन ।
त्यस्तै सदस्यहरुमा सजित तामाङ, रमेश कटुवाल, सुदर्शन खड्का, शशि राई, नेत्रप्रसाद पराजुली र मिरा कार्की निर्विरोध निर्वाचित भइसकेको संयोजक घिमिरेले जानकारी दिनु भयो ।
श्रोतका अनुसार नेकपा एमालेले उपाध्यक्ष र महासचिव पद लिएर अध्यक्ष लगायतका बाँकी अन्य पदहरु छाडेको बताइएको छ ।
अध्यक्ष पदमा तामाङलाई सबै दलले सहमति दिएको बुझिएको छ । एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायतका दलहरुले अध्यक्षमा तामाङलाई सहमति गरेको श्रोतको भनाई छ ।
तर अध्यक्षमा कांग्रेस भित्रैका ३ जना उम्मेदवार देखिएका छन । कांग्रेसका अर्याल र पौडेल पनि अध्यक्षका उम्मेदवार हुन । पौडेल पत्रकार पनि हुन । मनोनयन दर्ता गरेका उम्मेद्वारहरुले चैत ३ गते दिउँसो १ बजेसम्म मनोनयन फिर्ता लिन सक्ने निर्वाचन समिति संयोजक घिमिरेले बताउनु भयो ।