मेचीनगर, चैत्र १ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विभिन्न माग राख्दै क्याम्पसमा धर्ना र आगजनी गर्दा झापाको काकरभिट्टा बहुमुखी क्याम्पस क्षेत्र तनावग्रस्त बनेको छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षीत गरी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो माग सुनुवाई नभएको भन्दै क्याम्पसमा धर्ना, आगजनी र तोडफोड गरे पनि अनेरास्ववियुको मुख्य माग विद्यार्थी भर्नाका बिषयमा क्याम्पस प्रशासनले भने आफ्नो निर्णयबाट पछि नहट्ने जनाएको छ ।
फागुन १९ गतेसम्म विद्यार्थी भर्ना गर्ने भनेर पहिला नै सहमति भइसकेकाले त्यस विषयमा अनेरास्ववियुको मागका बारेमा कुनै सुनुवाई गर्न नसकिने काकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले बताउनु भयो । ‘१९ गते भर्ना भएका विद्यार्थीले पनि निर्वाचनमा भाग लिन पाउँछन,’ वहाँले भन्नुभयो, ‘हामीले मतदान गर्ने विद्यार्थीको नामावली निर्वाचन समितिलाई उपलब्ध गराईसकेका छौं ।’ निर्वाचन समितिले भने अनुसार क्याम्पस प्रशासनले सहयोग गर्ने क्याम्पस प्रमुख उप्रेतीले बताउनुभयो ।
‘क्याम्पसले निर्वाचन समितिलाई सहयोग गर्ने हो, निर्वाचन समितिले हुन्छ कार्यक्रम अघि बढाऔँ भन्छ भने क्याम्पस पनि सोहि अनुसार अघि बढ्छ हुदैँन भन्छ भने बढ्दैन, सेतापत्रसगँ कुराकानी गर्दै क्याम्पस प्रमुख उप्रेतीले भन्नुभयो, ‘क्याम्पसले निर्वाचन समितिलाई सहयोग गर्ने भएकाले आगामी कार्यक्रम निर्वाचन समितिको कदममा भर पर्छ ।’
विद्यार्थीको माग क्याम्पस प्रशासनसगं केन्द्रित रहेको निर्वाचन समितिले बताएको छ । निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले क्याम्पसले उपलब्ध गराएको मतदाता नामावली अनुसार नै निर्वाचन गराउन सक्ने बताउँदै विद्यार्थी भर्नाको विषयमा निर्वाचन समितिले केहि गर्न नसक्ने बताउनुभयो ।
‘हामीलाई टियुले जस्तो तालिका दिएको छ सोहि अनुसार काम गर्ने हो, विद्यार्थी भर्नाको विषयमा हामीले केहि गर्न सक्दैनौ,’ खड्काले भन्नुभयो, ‘अब मतदानको कार्य मात्रै बाँकि छ, सहमति भयो, सहज वातावरण भयो भने मतदान हुन्छ ।’ उहाँले आन्दोलनरत विद्यार्थीलाई क्याम्पस प्रशासनसग छलफल गर्न समेत आग्रह गर्नुभएको छ ।
यता अनेरास्ववियुले भने काँकरभिट्टा बहुमुखी क्याम्पसको मुल गेटमा ताला लगाएको छ । आज अपरान्ह क्याम्पसमा अनेरास्ववियु र नेविसंघका बिद्यार्थी बिच झडप समेत भएको थियो । क्याम्पसको मुल गेटमा राखिएको क्याम्पसको नाम लेखिएको बोर्ड अनेरास्ववियुले भत्काएर आगजनी गर्न खोज्दा नेविसंघका विद्यार्थीले रोक्न खोजे पछि दुई संगठनका बिद्यार्थीहरु बिच केही बेर झडप भएका कारण अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनरत अनेरास्ववियुका दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएर तितरबितर पारेपछि तत्कालका लागि अवस्था सामान्य भएको छ ।
अनेरास्ववियुले फागुन १८ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मात्र मताधिकार दिनुपर्ने, निर्वाचन कार्यक्रमलाई प्रभावित पार्ने गरी भुमिका खेल्ने शिक्षक तथा कर्मचारीलाई निर्वाचन परिचालन कमिटिबाट तत्काल निष्काशन गनुपर्ने लगायतका माग राख्दै माग पुरा नहुन्जेलसम्म धर्ना जारी राख्ने जनाएको छ । माग सम्बोधन नभएसम्म निर्वाचन कार्यक्रम सुचारु नगर्न पनि अनेरास्ववियुले निर्वाचन कमिटिलाई चेतावनी दिएको छ ।