मेचीनगर, फागुन २४ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज झापा शाखाले दुई जना महिलालाइ सम्मान गरेको छ ।
सामाजिक तथा आर्थिक क्षेत्रमा संघर्षशील महिलालाई थप सशक्त बन्न प्रोत्साहन गर्दै मेचीनगर ११ निवासी गीता कवर र मेचीनगर १३ निवासी निलादेवी भट्टराइलाई उहाँहरुको घरमै पुगेर संस्थाले सम्मान गरेको हो ।
देशभर ३१५ जना मात्र रहेको कवर जाती तर राज्यबाट लोपोन्मुख समुदायमा नपरेको, लोपोन्मुख समुदायकी महिला भएर स्नातक तह अध्ययन गर्दै दैनिक मजदुरी गरिरहनुभएकी, आफ्नो जातिलाइ लोपोन्मुख समुदायमा सुचिकृत गराउन विभिन्न फोरममा आवद्ध रहनुभएकी तथा सामाजिक कृयाकलापमा सकृय सहभागिता जनाउनुहुने गीता कवरलाई उहाँको कार्यको प्रोत्साहन स्वरुप सम्मान गरिएको हो ।
यसैगरी शारिरिक अपाङ्गता सगै सकृय रहनुभएकी, स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएकी, विभिन्न अपाङ्गता सबन्धी संस्थामा आवद्ध रहि अपाङ्गता भएका व्यक्तिको लागि संघर्षसील तथा परिवार र समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न क्रियाशिल रहनुहुने निलादेवी भट्टराइलाई पनि उहाँको कार्यको प्रोत्साहन स्वरुप सम्मान गरिएको छ ।
संस्थाका केन्द्रिय सदस्य ज्ञानेन्द्र निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वातावरण संरक्षणलाई ध्यानमा राख्दै बिरुवा हस्तान्तरण पनि गरिएको छ । शाखा उपसभापति प्रकाश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने कार्यक्रम संयोजक प्रमिला गौतम खनालले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका पुर्व सभापतिहरू तेजप्रसाद चौलागाई, टिकेन्द्र खनाल, महेन्द्र बिलास लुइँटेल, लिलाप्रसाद भण्डारी सहित संस्थाका पदाधिकारीहरू धनु भट्टराई, शिला खवास, खड्गकुमारी तिम्सिना, युबराज ढकाल, पबित्रा दर्नाल लगायतको सहभागिता थियो ।