मेचीनगर, फागुन २३ । मेचीनगरका पत्रकारहरुले आज हर्षाेल्लासका साथ होली मनाएका छन् । पत्रकारहरुको छाता संगठन प्रेस क्लब मेचीनगरको आयोजनामा सम्पन्न होली मिलन कार्यक्रममा पत्रकारहरुले भव्यताका साथ होली मनाएका हुन् ।
प्रेस क्लबको कार्यालय स्थान्तरणसँगै एकआपसमा रङ साटासाट गर्दै होली मनाइएको हो । यसअघि मेचीनगर ६ काँकरभिट्टामा रहेको क्लबको कार्यालय मेचीनगर–७ मा स्थान्तरण समेत गरिएको छ ।
क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षता तथा मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष धमलाले सञ्चार क्षत्रको विकासका लागि वडा, नगर सरकार सदैव लागि पर्ने बताउनुभयो ।
उहाँले पत्रकारिताको विकासका लागि वडा सरकारले सहयोग गरिरहेको र यसलाई थप व्यवस्थित गर्ने पनि बताउनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य राख्दै रङहरुको पर्व होलीको मौलिकता हराउँदै गएको भन्दै पत्रकारहरुले यस्ता विषयमा विचार विमर्ष गर्नुपर्ने बताउनुभएको थियो ।
प्रेस क्लब मेचीनगरका सचिव देबु बानियाँले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत उपाध्यक्ष जीआर धितालले गर्नुभएको थियो । होली मिलन तथा कार्यालय स्थान्तरण कार्यक्रममा मेचीनगरका पत्रकार तथा संस्थाका प्रतिनिधिहरुको उल्लेख्या उपस्थिति रहेको थियो ।