झापा, फागुन २३ । नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतिय कुखुरा र कुखुराको मासु तथा अण्डाको अबैद्य आयातलाई बिषेश निगरानी गरी नेपाल प्रवेशमा कडाई गरिने भएको छ । सरकारले प्रतिबन्ध लगाएको भए पनि खुला सिमानाको गलत फाईदा उठाउँदै कुखुरा र कुखुराको तयारी मासु तथा अण्डा लुकाई छिपाई गरी भारतबाट नेपाल भित्र्याउने गरे तथ्य फेला परेको भन्दै त्यसलाई तत्कालै कडाईका साथ निगरानी गरी नेपाल भित्रिन पूर्ण निषेध गरिने झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।

जिल्ला कुखुरा व्यवशायी संघ झापाका प्रतिनिधिहरुसंग सोमबार आफ्नै कार्यकक्षमा छलफल गर्दै देशमै आत्मनिर्भर रहेको कृषि उद्योगको रुपमा रहेको पोल्ट्री व्यवशायको संरक्षणका लागि सरकारले लिएको निति अनुसार काम गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । ‘राज्य संयन्त्र पूर्ण रुपमा कुखुरा पालक किसान र त्यसमा जोडिएका व्यवशायीहरुको पक्षमा छ,’ पोखरेलले भन्नुभयो, ‘भारतबाट हुने अबैद्य आयातलाई पूर्ण रुपमा नियन्त्रण गर्न सबै संयन्त्र परिचालन गर्छौ ।’

जिल्ला कुखुरा व्यवशायी संघ झापाका अध्यक्ष विवेक निरौलाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई भेट्न पुगेको व्यवशायी र किसानहरुको समूहले पोखरेललाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । उक्त अवसरमा नेपाली किसानले प्रत्यक्ष फाईदा पाईरहेको पोल्ट्री व्यवशायलाई धराशायी हुनबाट जोगाउन प्रशासनले बिषेश भुमिका खेल्नु पर्ने व्यवशायीहरुले बताएका थिए । व्यवशायीका तर्फबाट अध्यक्ष निरौला, उपाध्यक्ष लिलाधर ढकाल, सचिव सुवोध निरौला, युवराज प्याकुरेल, घनश्याम निरौला लगायतले भारतबाट तस्करहरुले कसरी कुखुरा र कुखुराको मासु तथा अण्डा नेपाल भित्र्याउँछन भन्ने बिषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

व्यवशायीहरुले सोमबार नै झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी र शसस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख देवराज अर्याललाई समेत भेटेर सिमानाकामा कडाईका लागि ध्यानाकर्षण गरेका थिए । व्यवशायीहरुको भेटमा दुवै प्रहरी प्रमुखले भारतबाट कुनै पनि हालतमा कुखुरा, कुखुराको मासु र अण्डा नेपाल भित्रिन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । वहाँहरुले तत्कालै आफ्ना नाकाका युनिट प्रमुखहरुलाई निर्देशन दिंदै सरकारले प्रतिबन्ध लगाएको कुखुराको मासु, अण्डा र जिउँदो कुखुरा नेपाल प्रवेश गर्न नदिन समेत बताउनु भएको थियो ।
नेपालको पोल्ट्री व्यवशायमा सरकारको मात्रै दुई खर्ब भन्दा बढी लगानी भइसकेको छ भने निजि क्षेत्रको समेत खरबौंको लगानी छ भने मन्त्री परिषदको निर्णयबाट नै जिउँदो कुखुरा, तयारी मासु र अण्डा भारतबाट नेपाल ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।