मेचीनगर, फागुन २० । मेचीनगर नगरपालिका परिषरमा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । शुक्रबार नगरपालिका कार्यालय भित्र रहेको सो काउण्टरको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले विधिवत रुपमा उद्घाटन गर्नुभएको छ ।
प्रमुख अतिथि समेत रहनुभएका सीईओ अधिकारीले मेचीनगरबासीलाई सहज तरिकाले सेवा दिन सकिन्छ भन्ने उद्देश्यले एक्स्टेन्सन काउण्टर स्थापना गरिएको बताउनुभयो । बैंकको देशभरीमा २२१ वटा शाखा, कोशी प्रदेशमा ३१ वटा शाखा, ५३ वटा एक्स्टेन्सन काउण्टर, झापामा ८ वटा शाखा रहेका छन् ।
योसगैँ मेचीनगरमा नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखा अन्तरगतको ३ वटा एक्स्टेन्सन काउण्टर भएका छन् । मेचीनगर नगरपालिका कार्यालयसहित काँकरभिट्टाको मेची भन्सार कार्यालय परिसर र इलाका प्रहरी कार्यालय नजिक एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ ।
कार्यक्रमका विशिष्ठ अतिथि मेचीनगर नगरपालिाका मेयर गोपाल चन्द्र बुढाथोकीले नगरपालिका परिसरमा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएपछि जनतालाई सेवा दिन सहज भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सीईओ अधिकारी, मेयर बुढाथोकी, बैंकका कोशी प्रदेशका कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।