काकरभिट्टा, फागुन १९ । नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतिय कुखुराको मासु पुर्वी नाकाबाट प्रहरीकै मिलेमतोमा नेपाल भित्रिरहेको खुलासा भएको छ । बिहिबार मात्रै २५ किलो कुखुराको तयारी मासु पुर्वी नाकाको मुख्य बाटो हुँदै नेपाल भित्रिए पछि नाकामा बस्ने नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सारका कर्मचारी समेतको मिलेमतोमा प्रतिबन्धीत कुखुराको मासु नेपाल भित्रिरहेको खुलासा भएको हो ।
हिजो अपरान्ह साढे ४ बजेको समयमा काकरभिट्टाका एक महिला व्यवशायीले २५ किलो कुखुराको तयारी मासु भारतबाट नेपाल भित्र्याएको तथ्य फेला परेको छ । नाकामा बसेका नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई भनसुन गरेकै भरमा प्रतिबन्धीत मासु नेपाल भित्र्याइएको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘मेची पुलमा नै रहेको शसस्त्र प्रहरी र बिचमा रहेको मेची भन्सारको जाँच केन्द्रमा भनसुन गरेर तथा अन्तिममा रहेको नेपाल प्रहरीको टोलीसंग झगडा नै गरेर ति महिलाले कुखुराको मासु नेपाल भित्र्याएको हो ।’ ‘महिलाले मासु ल्याएको देखे पछि नेपाल प्रहरीको टोलीले रोक्न खोजेको थियो,’ स्रोतले भन्यो, ‘तर ति महिला प्रहरीसंग झगडा गर्न थाले पछि प्रहरीले सजिलै उक्त प्रतिबन्धीत मासु सहित महिलालाई छोडिदियो ।’
प्रतिबन्धीत मासु नेपाल भित्रिएको बारे आफुलाई कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका डिएसपी दिपक भारतीले सेतोपत्रलाई बताउनु भयो । ‘नाकामा प्रतिबन्धीत बस्तुहरुको अबैद्य आयातलाई कडाई गरिएको छ,’ डिएसपी भारतीले भन्नुभयो, ‘कुखुराको मासु मात्रै होईन कुनै पनि प्रतिबन्धीत बस्तु नेपाल छिर्न नदिन हामीले नाकामा कडाई गरेका छौं ।’
यसै बिच पुर्वी नाकाबाट अबैद्य कुखुराको मासु नेपाल प्रवेश गरेको बिषयमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई जानकारी गराएको जिल्ला कुखुरा व्यवशायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताउनु भयो । ‘नगरप्रमुखलाई जानकारी गराएका छौं,’ निरौलाले भन्नुभयो, ‘नाकामा कडाई गर्न पहल गर्ने बताउनु भएको छ ।’
देशका विभिन्न स्थानहरुमा पंक्षीजन्य रोग वर्डफ्लू देखा परिरहेको अवस्थामा पुर्वी नाकाबाट प्रतिबन्धीत भारतिय कुखुरा र कुखुराको मासु नेपाल भित्रिनुले पुर्वी क्षेत्रमा समेत वर्डफ्लूको जोखिम बढाएको नेपाली कुखुरा व्यवशायीहरु बताउँछन ।