झापा, फागुन १९ । गत फागुन ५ गतेदेखि बिर्तामोडमा जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव सम्पन्न भएको छ । विभिन्न व्यक्तिलाई सम्मान गर्दै बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव सम्पन्न भएको हो ।
गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल ,व्यवसायीहरु भगवानदास सिंगल, हनुमान मित्तल, देवेन्द्रकुमार सिंह, प्रकाश गौतम, बीरबहादुर धमलालाई सम्मान गरिएको छ ।
त्यस्तै पत्रकार लक्ष्मी लुइँटेल, सेफराज पौडेललाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो । संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा हिजो प्रमुख अतिथि रहनुभएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकले आर्थिक संकट खेपिरहेको अवस्थामा आर्थिक स्थिरताको खोजी जरूरी रहेको बताउनुभयो ।
उहाँले दलहरूबीच असहमति भएपनि आर्थिक धरातल बलियो बनाउन एक ठाउँमा उभिनुपर्ने धारणा पनि राख्नुभयो । आर्थिक संकटले क्रमिक रूपमा सबैलाई छुने बताउँदै महामन्त्री शर्माले राजनीतिक स्थिरताको अपेक्षा गरिएको भएपनि मुलुक अस्थिरतातर्फ धकेलिने हो कि भन्ने संशय उत्पन्न भइरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब अध्यक्ष चण्डिराज ढकालले दिनदिनै उद्योग बन्द भइरहेको अवस्थामा निजी क्षेत्रको प्रवद्र्धनका लागि समन्वयात्मक ढंगबाट काम गर्न आग्रह गर्नुभएको छ ।