झापा, फागुन ६ । सामान्यतया एक कप चिया खान १० रुपैया भन्दा बढी नै रकम तिर्नु पर्छ तर शुक्रबारदेखि बिर्तामोडमा शुरु भएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भने एक चियाका लागि एक रुपैया मात्रै तिर्नु पर्छ । एक रुपैयाँमा नै चिया खान पाइने भए पछि महोत्सवकै रोनक थप्ने गरी अर्जुनधारा वडा नं ६ का चक्र कार्की र नरेश सापकोटाले मानिसको भिड आफ्नो स्टलमा तानिरहेका छन ।
महोत्सवको ६९ नम्बर स्टलमा जतिबेलै मानिसको घुँइचो देखिन्छ । त्यो भिड एक रुपैयामा एक कप चिया खानेहरुकै हो । अत्यन्तै स्वादिलो चिया बितरण गरिहेको छ ‘रंग छिटो खाँदा मिठो’ भन्ने नारा सहित सीता चिया तथा घरेलु मसला उद्योगले सञ्चालन गरेको मेजमान चियाले ।
नेपालको चिया विश्व सामु चिनाउने उद्देश्यले व्यवसायीद्वय चक्र कार्की र नरेश सापकोटाले मेजमान चिया एक रुपैयामा नै उपलब्ध गराएको बताएका छन ।
मिसावट रहित विना फ्लेवरको चिया एक रुपैयाँमा नै उपलब्ध गराउन थालेपछि भारत, बंगलादेश र पाकिस्तानबाट मेलामा सहभागीताका लागि आएकाहरुले समेत नेपालको मेजमान चियाको चुस्की लिँदै रमाईरहेका छन् ।
महोत्सवको पहिलो दिन शुक्रबार आठ सय कप चिया बिक्रि भएको र दोस्रो दिन दुई हजार भन्दा बढी कप चिया बिक्रि भएको मेजमान चियाका सञ्चालक चक्र कार्कीले बताउनु भयो । ‘महोत्सव आउने सबैलाई एक कप चिया खुवाएर पठाउने योजना बनाएका छौं,’ कार्कीले भन्नुभयो, ‘दुध हालेको, दुध नहालेको र चिनि नहालेको सबै प्रकारको चिया एक रुपैया कपका दरले बिक्रि गरिरहेका छौं ।’ कार्कीका अनुुसार कपलाई नै एक रुपैया पर्छ तर व्यापारका लागि भन्दा पनि नेपाली चियाको पहिचानका लागि एक रुपैयामा एक कप चिया बितरण गरिएको हो । चिया खान आउनेलाई चिया रंग पनि बिक्रि गरिहेको कार्कीले बताउनु भयो । वहाँले भन्नुभयो, ‘अरु बेला ६ सय रुपैया किलो बिक्रि गर्ने चिया महोत्सवमा ४५० रुपैया किलो बिक्रि गरिरहेका छौं ।’
एक रुपैयामा नै एक कप चिया खान पाइने भए पछि मेजमान चियाको स्टलले महोत्सवको रौनक बढाएको महोत्सव अवलोकन गर्न आउनेहरुले बताएका छन ।