झापा, मंसिर २७ । राष्ट्रिय महिला आयोगले झापाका मेनपावर कम्पनीहरुको छानविन गर्न निर्देशन दिएको छ । आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले झापाका मेनपावर कम्पनीहरुको कार्य शंखास्पद भएकाले उनीहरुको बारेमा बिस्तृत छानविन गरि प्रतिवेदन बुझाउन झापाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको हो ।
महिला आयोगको सोमबार भद्रपुरमा आयोजना गरिएको वैदेशिक रोजगारमा संलग्न महिलाहरूको सुरक्षित मर्यादित सेवाको सुनिश्चितताका लागि सरोकारवालाहरुसंग छलफल तथा सार्वजनिक सुनुवाई कार्यक्रमकै दौरानमा आयोगकी सदस्य खतिवडाले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई छानविन गर्न निर्देशन दिनु भएको हो ।
बैदेशिक रोजगारीका कारण पीडित बनेका महिलाहरु समेत सहभागि कार्यक्रममा झापाका मेनपावर व्यवशायीहरु उपस्थीत नभए पछि उनीहरुको गतिविधि शंखास्पद भएको भन्दै आयोगकी सदस्य खतिवडाले मेनपावर कम्पनी माथि महिला आयोगले निगरानी शुरु गरेको बताउनु भयो । कार्यक्रममा झापा मेनपावर व्यवशायीहरुलाई समेत निमन्त्रणा गरिएको भए पनि एक जना पनि व्यवशायी कार्यक्रममा सहभागि थिएनन ।
कार्यक्रममा सहभागी पीडित महिलाहरूले वैदेशिक रोजगारीमा गएर ठगिनु पर्दाको पीडा सुनाउँदै ठकलाई कारवाही नभएकोमा आपत्ति जनाएका थिए । उनीहरूले श्रम तथा रोजगार विभागकै कर्मचारीका कारण न्याय पाउन नसकेको भन्दै म्यानपावर कम्पनीका अवैध काम रोक्न माग समेत गरेका छन । मेनपावर कम्पनीको कामलाई सरकारले नहेरेका कारण नै आफुहरु ठगिएको ओमनबाट फर्किनु भएकी हल्दिबारीकी सपना रायाले बताउनु भयो ।
झापाका मेनपावर कम्पनीहरुको यथार्थ अवस्था बुझ्ने र कम्पनीबाट गलत काम भइरहेको भए रोक्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो ।
कार्यक्रममा झापामा कानूनी रुपमा नै सञ्चालनमा रहेका १० वटा म्यानपावर कम्पनीलाई जवाफदेही वनाएर श्रम तथा रोजगार कार्यालयले बोलाएको भए पनि कुनै पनि म्यानपावरका सञ्चालक नआएपछि सर्वत्र विरोध समेत भएको थियो ।
जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला आयोगकी उपसचिव सिता बरालले सहजिकरण गर्नु भएको थियो भने श्रम कार्यालय बिराटनगरका पुण्यप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।