झापा, असोज १२ । झापाको पाँचपोखरी सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षकै संलग्नतामा अनुमति बिना नै काठ चिरानी गरेको खुलासा भएको छ । बुद्धशान्ति ५ स्थीत वन समूहका अध्यक्ष बिक्रम खालिङकै सक्रियतामा जिल्ला वन कार्यालयको चिरान आदेश बिना नै अनउ जातको काठका गोलिया चिरान गरिएको खुल्न आएको हो ।
केही दिन अघि करीब ३० किबिका तीन वटा गोलिया वन समूहका अध्यक्ष खालिङले पारिवारका सदस्यको साथ लगाएर धुलाबारीस्थीत एउटा चिरान मिलमा पुर्याउनु भएको थियो । दुई दिन पछि ति गोलियालाई चिरान गरी खालिङकै दाजु र भतिजाले लिएर गएका थिए । ‘चिरानमा आउने सबै काठको बिल र चिरान आदेश पठाउँथे,’ ‘मिल सञ्चालकले भन्नुभयो, ‘त्यो तिनवटा गोलियाको बिल र चिरान आदेश दुवै थिएन ।’
पाँचपोखरी वन समूहलाई तत्काल कुनै चिरान आदेश नदिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । ‘हामीले चिरान आदेश नदिएको अनउ जातका गोलिया चिरान भएको खबर पाउने बित्तिकै कारबाहीको प्रक्रिया सूरु गरेका छौं,’ जिल्ला वनका निमित्त प्रमुख जीवन पाठकले सेतोपत्रसंग भन्नुभयो, ‘सबै कागजात र बिल भर्पाइ ल्याउन वन समूहलाई पत्राचार गरिसकेका छौं ।’ अनुमति बिना नै चिरान गरिएका काठ भर्पाइ गरेर राखिएको पाठकले बताउनु भयो ।
अनुमति नलिई काठ चिरान गरिएको बिषयमा वन उपभोक्ता समूहका पदाधिकारीहरु नै बेखबर देखिएका छन । ‘गोलिया चिरान भएको कुरा हामीलाई पनि थाहा छैन,’ वन समूहका एक पदाधिकारीले भन्नुभयो, ‘बैठकमा गोलिया चिरानमा पठाउने कुनै निर्णय भएको पनि छैन ।’ अनुमति नलिएका गोलिया अध्यक्षले नै चिरान गर्न लगाएको हो भने उपभोक्ताहरु चुप लगेर नबस्ने वन समूहका एक सदस्यले बताउनु भयो ।
गोलिया चिरान गरिएको बिषयमा वन समूहका अध्यक्ष खालिङले स्पष्ट कुरा गर्नु भएन । वहाँले चिरान भएको भने स्वीकार गर्नु भयो । अध्यक्ष खालिङका अनुसार उक्त चिरान गरिएका गोलिया केही समयदेखि घाटगद्दीमा नै रहेको थियो ।