बिर्तामोड, भदौ १८ । १ नं. प्रदेशका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले आफुलाई मिडिया माफियाहरुले किन्न खोजेको बताउनु भएको छ । शनिबार झापाको बिर्तामोडमा आयोजित नारी सञ्चार गृह झापाको ११ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले मिडियामा समेत माफिया र बिचौलियाहरु सक्रिय रहेको बताउनु भयो ।
‘मिडियामा पनि माफियाहरु रैछन,’ मन्त्री घिमिरेले भन्नुभयो, ‘मलाई नै किन्न खोजे ।’ बिचौलियाहरुका कारण काम गर्न पनि निक्कै समस्या भएको मन्त्री घिमिरेले बताउनु भयो । यातायात व्यवस्थामा पनि बेथिति भएको मन्त्री घिमिरेले स्वीकार गर्नु भयो । चलिरहेको सफ्टवेयर बिगारेर ट्रायल पास भएका प्रदेश १ का ७० हजार र देशभरका करीब १५ मानिसको लाइसेन्स दिनमा ढिलाई गरेको मन्त्री घिमिरेले उक्त अवसरमा बताउनु भयो । ‘सफ्टवेयरले काम गर्दैन भनेर लाईसेन्स दिन नै ढिलाई गरे,’ वहाँले भन्नुभयो, ‘त्यसबारेमा हामी सातै प्रदेशका यातायात मन्त्री बसेर समाधान निकाल्यौं र सबैलाई अब छिट्टो लाईसेन्स वितरण गर्ने व्यवस्था गरेका छौं ।’
नारी सञ्चार गृह झापाकी अध्यक्ष भिमा सिवाकाटीको अध्यक्षतामा भएको कार्यक्रममा १ लाख १ हजार १११ रुपैयाको नारी पत्रकारिता पुरस्कार घोषणा गरिएको छ । प्रदेश १ भरिका महिला पत्रकार मध्येबाट हरेक दुई बर्षमा वितरण गर्ने नारी पत्रकारिता पुरस्कार नारी सञ्चार गृह झापाको अधिवेशनमा प्रदान गर्ने अध्यक्ष शिवाकोटीले बताउनु भयो ।
त्यस्तै नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कारको समेत घोषणा गरिएको थियो । २५ हजार ५ सय राशीको यो पुरस्कार झापाका पत्रकारहरुले पाउने व्यवस्था गरिएको अध्यक्ष शिवाकोटीले बताउनु भयो ।
मर्यादित पत्रकारिताका बिषयमा अन्तरक्रिया समेत गरिएको कार्यक्रममा नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, पत्रकार महासंघ प्रदेश १ कि उपाध्यक्ष हिमा चेमचोङ, पत्रकार महासंघ झापाका पुर्व अध्यक्ष चिन्तामणी दाहाल, पत्रकार गोपाल काफ्ले लगायतले पेशागत मर्यादा कायम राख्नु पर्नेमा जोड दिएका थिए ।
संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले स्वागत तथा कार्यक्रमका बारेमा जानकारी गराएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव भुमिका सुब्बा र उपाध्यक्ष रेजिना गौतमले गर्नु भएको थियो ।