माइधार, जेठ १५ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारस्थीत सरस्वती कन्या गुरुकुल सञ्चालन सहयोगका लागि जेठ १८ गतेदेखि २८ गतेसम्म शिव महापुराणको आयोजना हुने भएको छ ।
पुराण आयोजनाका बारेमा जानकारी दिने उद्देश्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुकुलकी मुख्य सञ्चालिका बिदुषी बिन्दा निरौलाले देशमा नै दुई वटा मात्रै रहेको कन्या गुरुकुल सञ्चालनका लागि भवनको अभाव भएकाले आर्थिक सहयोग संकलनका लागि पुराण आयोजना गरिएको बताउनु भयो । ‘पुरुष गुरुकुल जस्तो कन्या गुरुकुल सञ्चालन गर्न सजिलो छैन,’ निरौलाले भन्नुभयो, ‘गुरुकुलमा रहने कन्याहरुका लागि बिषेश व्यवस्था गर्नु पर्छ त्यसैले भवन नभई नहुने भएकाले पुराण मार्फत सहयोग संकलन गर्न लागिएको हो ।’
२०७६ साल असारदेखि दिव्यपथ महिला सरोकार समाजले सञ्चालन गरेको कन्या गुरुकुलका लागि तीन तले भवनको डिपिआर तयार भइसकेको र करीब ३ करोड बजेट लाग्ने अनुमान गरिएको पुराण मुल आयोजक समितिका संयोजक चन्द्रप्रसाद खनालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
कन्या गुरुकुलमा अहिले १६ जना स्थानीय छोरीहरुले अध्ययन गरिरहेका छन । ९ बर्षदेखि १८ बर्षसम्मका कन्याहरुले आफ्नै घरबाट आएर बेलुकाको समयमा गुलकुलमा संस्कृति भाषाको ज्ञान, योग तथा ध्यान सम्बन्धी अध्ययन गरिरहेको दिव्यपक्ष महिला सरोकार समाजकी सचिव नैनकला भट्टराईले बताउनु भयो ।
गुरुकुलमा बसेर अध्ययन गर्नका लागि देशभरबाट कन्याहरुले इच्छा राखेको भए पनि छात्राबासका लागि भवन अभाव भएकाले अहिले स्थानीय कन्याहरुलाई मात्रै अध्ययन गर्ने व्यवस्था मिलाएको भु तपस्वी समेत रहनु भएकी गुरुकुल सञ्चालिका बिन्दा निरौलाले बताउनु भयो ।
जिल्लामा माइधारमा मात्रै रहेको कन्या गुरुकुलको भवन निर्माणमा सहयोग पुर्याउन गुरुकुलका प्रवक्ता छविरमण निरौलाले बताउनु भयो ।
दिव्यपथ महिला सरोकार समाजकै परिषर माइधारमा जेठ १८ देखि २८ गतेसम्म हुने शिव महापुराणमा आचार्य इश्वरकृष्ण महाराजले कथा बाचन गर्नु हुने छ भने पुराण अवधीमा जगतगुरु वालसन्त मोहनशरण देवाचार्यज्यूको समेत उपस्थीति हुने बताइएको छ ।
संस्थाकी अध्यक्ष विन्दा निरौलाको सभापतित्व र सचिव नैनकला भट्टराईको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन भएको थियो ।